उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता गाभिने, यी हुन् ‘मर्ज’ हुने निकायहरू


काठमाडौं। सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गाभ्ने निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्लेले सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै ६ निकाय गाभ्ने (मर्जर) गर्ने घोषणा गरेका छन्। ती निकायमा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति पनि परेको हो।

 अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई काठमाडौं उपत्यका विकास प्राधिकरणमा गाभेर प्रभावकारिता बढाउन प्राधिकरणको कानुन संशोधन तथा संस्थागत पुनर्संरचना गरिने भएको छ। प्राधिकरण अन्तर्गत रहेका विभिन्न सहरी विकास आयोजनाहरू प्राधिकरणको नियमित संरचना मार्फत सञ्चालन गर्ने अन्य इकाइहरू गर्ने प्रस्ताव अघि बढेको पाइन्छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल पारवाहन तथा गोदाम लिमिटेड गाभिने भएका छन्। नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको काम नेपाल पारवाहन तथा गोदाम कम्पनीलाई दिएर उक्त समिति खारेज गर्न प्रस्ताव गरिएको छ। पारवाहन तथा गोदाम व्यवस्थापनका लागि प्राधिकरण नै गठन हुने सम्भावना पनि देखिन्छ।

महिला स्वाबलम्बन कोष र युवा तथा साना व्यवसायी स्वरोजगार कोष गाभिने भएका छन्। ती दुई कोष गाभेर राष्ट्रिय राष्ट्रिय उद्यमशीलता तथा स्वरोजगार कोष स्थापना गर्न प्रस्ताव गरिएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोग गाभिने भएको छ। बजेट भाषणमा नै ती निकायहरू गाभेर एउटै संरचना बनाउने घोषणा गरिएको हो। यी निकायहरू गाभेर शक्तिशाली काठमाडौं उपत्यका खानेपानी प्राधिकरण गठन गर्न प्रस्ताव गरिएको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई पनि गाभेर एउटै बनाउन प्रस्ताव गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने अगाडि नै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान गाभेर एउटै बनाइसकेको छ। दुई प्रतिष्ठान भागेर नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान बनाइएको हो। उक्त मामिलाम अर्थ मन्त्रालयभन्दा पर्यटन मन्त्रालय अघि देखिएकाे छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता गाभिने, #यी हुन् ‘मर्ज’ हुने निकायहरू

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ