दुई वर्ष बढीदेखि एउटै मन्त्रालयमा जमिरहेका सचिव बढुवाको मुखमा रहेका दुई सहसचिव


काठमाडौं। सचिव बढुवाको मुखमा रहेका दुई सहसचिव दुई वर्षभन्दा बढी समयदेखि एउटै मन्त्रालयमा कार्यरत छन्। अर्थ, गृह, परराष्ट्रभन्दा फरक प्रकृतिका रक्षा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा एक सरूवा अवधिभन्दा बढी समयदेखि सहसचिवहरू बसेका हुन्। रक्षा मन्त्रालयमा ज्ञानेन्द्र पौडेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आभा श्रेष्ठ दुई वर्ष बढी समयदेखि रजगज गरेर बसिरहेकी छिन्।

रक्षा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल उक्त मन्त्रालयमा सरूवा भएको दुई वर्ष पूरा भइसकेको छ। रक्षा मन्त्रालयको व्यवस्थापन महाशाखा महाशाखा प्रमुख रहेका पौडेल २०८० मंसिरमै रक्षा मन्त्रालयमा सरूवा भएका थिए। उनी दुई वर्षभन्दा लामो समयदेखि रक्षामा टिक्न सफल भएका हुन्। स्वास्थ्य सेवा विभागमा लेखा उपसचिव हुँदा पौडेल भ्रष्टाचार मुद्दा लाग्नबाट बालबाल जोगिएका थिए। तत्कालीन लेखा अधिकृत तेजप्रकाश प्रसाईं (हाल झापाका सहायक प्रमुख जिल्ला अधिकारी)लगायतलाई भ्रष्टाचार मुद्दा लाग्दा सरकारी साक्षी बनेर पौडेलले उन्मुक्ति पाएका थिए। प्रसाईं राष्ट्रिय योजना आयोगमा रमाना भइसकेपछिको विषयमा मुद्दा लागेपछि उनले अदालतमा कडा प्रतिवाद गरेका थिए। सफाइमा प्रसाईंले भ्रष्टाचार मुद्दाबाट सफाइ पाइसकेका छन्। उक्त विषयमा स्वास्थ्यतिर निकै चर्चा हुने गरेको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सहसचिव आभा श्रेष्ठ पनि ३ वर्षभन्दा बढी समयदेखि त्यहाँ कार्यरत रहेकी छिन्। समाज कल्याण परिषद्को सदस्य-सचिवमा पुनर्नियुक्ति गराउन मनोज भट्टको पक्षमा ‘लबिइङ’ गरेर हिँडेपछि उनी निकै चर्चामा आएकी थिइन्। उनको सेटिङ नराम्रो सँग भत्कियो। महिला मन्त्रालयको महिला सशक्तीकरण महाशाखा प्रमुख रहेकी आभा पनि लामो समयदेखि एउटै मन्त्रालयमा डेरा जमाउने सहसचिव पर्छिन्।

पौडेल र श्रेष्ठ सचिव बढुवा ‘टप-१२’भित्र रहेका सहसचिव हुन्। आगामी आर्थिक वर्षभित्र उनीहरू सचिवमा बढुवा हुन सक्छन्। यही अवस्था रहने हो भने उनीहरू दुई वर्ष बढीदेखि एउटै मन्त्रालयमा बसेर सचिव हुने अवस्था आउँछ। त्यसैले उनीहरूलाई तत्काल अन्यत्र सरूवा गरेर पठाउन जरूरी छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #आभा श्रेष्ठ, #ज्ञानेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ