नेतृत्वकाे संकटमा गहिरिँदै स्वास्थ्य क्षेत्र


काठमाडौं । कुनै समय स्वास्थ्य सेवा विभागको महानिर्देशक र महाशाखा प्रमुख पदमा प्रभावशाली र सक्षम व्यक्तिहरूको बलियो पकड थियोे । केवल त्यही पदमा मात्रै होइन, विभागका अन्य शाखा तथा जिम्मेवारीपूर्ण तहहरूमा पनि उत्तिकै दक्ष, अनुभवी र योग्य जनशक्ति सक्रिय थिए। अहिले जस्ताे “दुधालु शाखा” र तरमारा कर्मचारी कमै हुन्थे ।

स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा डा. भीमसिंह तिंकरी, नरेश प्रताप केसी, डा. राजेन्द्र पन्त, डा. बाबुराम मरासिनी, डा. भीम आचार्य, डा. जिडी ठाकुर, डा. भोगेन्द्रराज डोटेल, महेन्द्र श्रेष्ठ, डा. गुणराज लोहनी, डा. रोशन पोख्रेल, डा. विकास लामिछाने, डा. आरपी बिच्छा जस्ता व्यक्तित्वहरूले विभागको नेतृत्व तथा व्यवस्थापनलाई सुदृढ बनाएका थिए। उनीहरूको कार्यकालमा नीति कार्यान्वयन, सेवा विस्तार र प्रशासनिक सुदृढीकरणमा स्पष्ट प्रभाव देखिन्थ्यो।

त्यतिखेर स्वास्थ्य क्षेत्रमा दशौँ अर्ब रुपैयाँ बराबरका खरिद प्रक्रिया नियमित रूपमा सञ्चालन हुन्थे। स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य अत्यावश्यक सामग्रीहरूमा छिटफुट बाहेक अभाव देखिँदैनथ्यो। यही व्यवस्थापन क्षमताकै कारण । तर, अहिले अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री समेत खरिद हुदैन, नेतृत्वमा बस्नेहरुले नेपाली कागजमा कलम समेत चाेब्दैनन् ।

कोभिड-१९ जस्तो विश्वव्यापी महामारीका समयमा समेत, हजारौँ मानिसको ज्यान गुम्दा–गुम्दै पनि प्रणालीले त्यसलाई तुलनात्मक रूपमा सहज रूपमा व्यवस्थापन गर्ने हैसियत राख्यो र महत्वपूर्ण रूपमा सामना गर्न सफल भयो।

तर कोभिडपछि भने स्वास्थ्य क्षेत्रमा नेतृत्व संकट चर्किँदै गएको देखिन्छ। पब्लिक हेल्थमा दक्ष र अनुभवी जनशक्ति महाशाखा नेतृत्वमा पुग्न सकेका छैनन् भने स्वास्थ्य सेवा विभाग जस्तो संवेदनशील निकाय सम्हाल्न सक्षम नेतृत्व अभाव झन् स्पष्ट बन्दै गएको छ। नेतृत्वमा पुगेकाहरु पनि राज्य र जनताको हितमा भन्दा आफ्नाे फाइदाका लागि मात्रै तल्लीन बन्दा सेवा चुस्त बन्न सकेन ।

स्वास्थ्यकाे याे अवस्थालाई लामो समयसम्म परेको “खडेरी” सँग तुलना गर्न सकिन्छ। जसरी पानी नपर्दा बाली सुक्दै जान्छ, उत्पादन घट्छ र अन्ततः खाद्य संकट निम्तिन्छ, त्यसैगरी स्वास्थ्य क्षेत्रमा नेतृत्वको खडेरी पर्दा प्रणाली कमजोर बन्दै गएको छ। सक्षम र निर्णय गर्न सक्ने नेतृत्वको अभावले देशभरका स्वास्थ्य संस्थामा औषधि तथा औषधिजन्य सामग्रीको अभाव टड्कारो रूपमा देखिन थालेको छ। यसको प्रत्यक्ष असर आपूर्ति व्यवस्थापनमा परेको छ।

स्वास्थ्य उपकरणदेखि अत्यावश्यक औषधिसम्म, अझ सामान्य जनस्वास्थ्यसँग जोडिएका सामग्रीहरू समेत राज्यले नियमित रूपमा खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा, कुकुरको टोकाइपछि जीवनरक्षाका लागि अत्यन्तै आवश्यक पर्ने एन्टी–रेबिज भ्याक्सिनसमेत पर्याप्त रूपमा खरिद हुन नसक्दा विभिन्न ठाउँमा अभाव देखिएको छ।

औषधि खरिद प्रक्रियामा पनि समस्या जटिल बन्दै गएको छ। टेन्डर आह्वान गर्दा सस्तो औषधिमा आपूर्तिकर्ता कम्पनीहरूले भाग नलिने, वा भाग लिए पनि नपाएको कम्पनीले “सेटिङ” को आरोप लगाउँदै मिडियाबाजी गर्ने प्रवृत्ति बढ्दो छ। कतिपय अवस्थामा कर्मचारीलाई बदनाम गर्ने, आफैं उजुरी तयार गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायमा मुद्दा हाल्ने परिपाटीले समग्र खरिद प्रक्रिया नै प्रभावित भएको देखिन्छ।

यस्तो अवस्थाले कर्मचारी मनोबलमा समेत प्रत्यक्ष असर पारेको छ। एकातिर नेतृत्वको खडेरी, अर्कोतिर धमाधम भ्रष्टाचारका मुद्दा दर्ता भइरहने अवस्था—यी दुईबीच धेरै कर्मचारी “जोखिम नलिने” मनस्थितिमा पुगेका छन्। कतिपय कर्मचारीहरू बयानका लागि अनुसन्धान निकाय धाइरहेको अवस्थामा, उनीहरू जनताका लागि आवश्यक औषधि तथा उपकरण खरिद गर्ने निर्णय लिनसमेत हिच्किचाइरहेका छन्। परिणामस्वरूप, स्वास्थ्य सेवा प्रवाह प्रत्यक्ष रूपमा प्रभावित भएको छ।

पछिल्लो समय डा. महेन्द्र श्रेष्ठ स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका बेला कोभिडको चरम अवस्था थियो। त्यतिबेला राज्यसत्ताको हस्तक्षेपका बीच स्वास्थ्य उपकरण तथा खोप खरिद प्रक्रियामा अनियमितताको आरोप समेत उठे। त्यसकै बीच उनी विभागबाट बाहिरिएपछि स्वास्थ्य क्षेत्रमा नेतृत्व संकट झन् गहिरिँदै गएको टिप्पणी गर्न थालिएको छ। स्वास्थ्यकाे समायोजनले पनि यसलाई बल पुर्याएकाे छ ।

महेन्द्र श्रेष्ठ पछि स्वास्थ्य सेवा विभागकाे नेतृत्वमा पुगेका डा विकास देवकाेटा, डा दिपेन्द्र रमण सिंह, डा टंक प्रसाद बाराकाेटी डा केशर ढकाल कलम नचाेबी बसे । ठाउँ ओगट्ने बाहेक काम माखाे मरेन ।

अहिलेको अवस्था हेर्दा स्वास्थ्य क्षेत्र कुनै गम्भीर बिरामीजस्तै देखिन्छ—बाँच्ने आशा त छ, तर नयाँ ऊर्जा, सुधार र दूरदर्शी नेतृत्वबिना पुनर्जीवनको स्पष्ट संकेत भने देखिँदैन। स्वास्थ्य क्षेत्रमा परेको यो “खडेरी” कहिले अन्त्य हुन्छ र कहिले पुनः सक्षम नेतृत्वको वर्षा हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित नै छ।

त्यसैले मन्त्री निशा मेहताले विगतमा संकटलाई राम्रोसँग अंगालेका र स्वास्थ्यका यी धराेहरसँग सामुहिक स्वास्थ्य सुधारका विषयमा केन्द्रित भएर छलफल गर्नु सकारात्मक मानिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## डा. आरपी बिच्छा, ##डा. भीमसिंह तिंकरी, #डा. गुणराज लोहनी, #डा. जिडी ठाकुर, #डा. बाबुराम मरासिनी, #डा. भीम आचार्य, #डा. भोगेन्द्रराज डोटेल, #डा. महेन्द्र श्रेष्ठ, #डा. राजेन्द्र पन्त, #डा. रोशन पोख्रेल, #डा. विकास लामिछाने, #नरेश प्रताप केसी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ