प्रधानमन्त्री कार्यालयमा सचिवको ‘माछाबजार’ हट्दै
समाचार टिप्पणी
काठमाडौं। सरकारले दरबन्दी मिलान गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवको ‘माछाबजार’ जस्तो बनेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दरबन्दीमा किरणराज शर्मा, गोविन्दबहादुर कार्की र कानुनका पुष्कर सापकोटा सचिव रहेका थिए। त्यस्तै विशेष दरबन्दीमा खगेन्द्रप्रसाद नेपाल सचिव रहेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दरबन्दीका ३ र विशेष दरबन्दीका १ गरी ४ सचिव कार्यरत हुँदा विभिन्न मन्त्रालय ‘मर्ज’ र खारेजी हुँदा आधा दर्जन सचिव जगेडामा तानिएका थिए। भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेको दरबन्दी पनि प्रधानमन्त्री कार्यालयको जगेडामा तानिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा हाजिर गर्ने सचिवहरूमा कृष्णहरि पुष्कर कर्ण, लोकनाथ पौड्याल, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा रहेका थिए। झन्डै एक दर्जन सचिव प्रधानमन्त्री कार्यालयमा भेला भएका थिए।
जगेडामा पुगेको केही समयपछि सचिव कृष्णहरि पुष्कर कर्ण अवकाशमा गए। दरबन्दीको गोविन्दबहादुर कार्की मुख्यसचिवमा बढुवा भए। विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल अवकाशमा गइसकेका छन्। मुख्यसचिव हुन नपाएको झोंकमा बिदामा बसेका सचिव किरणराज शर्मा पनि अवकाशमा गइसकेका छन्। जगेडाका अर्का सचिव लोकनाथ पौड्याल आजबाट घर गएका हुन्।
जगेडामा रहेका सचिवहरू हरिप्रसाद मैनाली र गोविन्दप्रसाद शर्माको पनि अवकाशको ‘काउनडाउन’ सुरू भइसकेको छ। डिल्लीराम शर्माको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भइसकेको छ। उनको ठाउँमा राधिका अर्याल आएकी छिन्। अहिले सिंगो प्रधानमन्त्री कार्यालय कानुनका सचिव पुष्कर सापकोटाले धानिरहेका छन्। कुनै बेला सचिवको ‘माछाबजार’ बनेर चर्चामा आएको प्रधानमन्त्री कार्यालयमा सचिवहरू तितरवितर हुन थालेपछि उक्त ‘ट्याग’ पनि हट्ने अवस्था आएको हो। दरबन्दीका सचिव खाली भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडाका सचिव पनि रित्तिन थालेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस