काठमाडौं महानगरपालिकाभित्र मौलाएको घुसतन्त्र
काठमाडौं। २१ हजार रुपैयाँ घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (अधिकृत छैटौं) उद्धब भट्टराई पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार घुस रकमसहित पक्राउ गरेको हो।
पछिल्लो समय काठमाडौं महानगरपालिकाभित्र घुस काण्ड मौलाएको पाइन्छ। काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा पसल दर्ता गर्न जाँदा बाध्य भएर १० हजार रुपैयाँ घुस खुवाएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको छ। साउन १ गते मात्र राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिकालाई सेवाग्राहीलाई प्रदान गरिने व्यवसाय दर्तालगायतका सम्पूर्ण सेवाहरू प्रचलित कानुन, तोकिएको कार्यविधि, नागरिक बडापत्र तथा सुशासन सिद्धान्त अनुरूप निष्पक्ष, पारदर्शी, समयबद्ध र सेवाग्राहीमैत्री ढंगबाट प्रवाह गर्ने तथा कुनै पनि कर्मचारी वा पदाधिकारीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकृत रकम, सुविधा वा अन्य कुनै प्रकारको अनुचित लाभ माग्ने वा लिनेजस्ता कार्य हुन नदिने गरी प्रभावकारी आन्तरिक नियन्त्रण, अनुगमन तथा सुपरीवेक्षण व्यवस्था सुदृढ गर्नू/गराउनू भनेर निर्देशन दिएको थियो। त्यसकाे एक हप्ता नबित्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत भट्टराईलाई अख्तियारले २१ हजार घुससहित नियन्त्रणमा लिएको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरी २१ हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं) उद्धब भट्टराईलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
राष्ट्रिय सतर्कता केन्द्रको घुस नखान दिएको निर्देशनलाई काठमाडौं महानगरपालिकाका कर्मचारीले ठाडै चुनौती दिएका छन्। केन्द्रको निर्देशनको अवज्ञा गरेको भट्टराई अख्तियारको फन्दामा परेको प्रकरणबाट पुष्टि हुन्छ। उक्त प्रकरणबाट काठमाडौं महानगरपालिकामा घुसतन्त्र मौलाइरहेको देखिन्छ।


तपाईको प्रतिक्रिया दिनुहोस