रमाना भएकाे एक हप्ता बित्दा पनि मधेश प्रदेशमा हाजिर भएनन् प्रमुख सचिव शोभाकान्त


काठमाडौं। मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल रमाना भएको एक हप्ता बित्दा पनि हाजिर भएका छैनन्। महालेखा नियन्त्रकबाट पौडेल गत साउन १ गते शुक्रबार नै मधेश प्रदेशको प्रमुख सचिवमा रमाना भएका थिए। तर, उनी अहिलेसम्म मधेश प्रदेशमा हाजिर भएको पाइँदैन। हिजो शुक्रबार ८ दिन हुँदा पनि प्रमुख सचिव पौडेल हाजिर नभएको पाइएको हो।

मधेश प्रदेशको प्रमुख सचिवमा सरूवा भएका पौडेलले दुई हप्तापछि मात्र रमाना लिएका थिए। रमाना लिएको एक हप्ता कटिसक्दा पनि पौडल हाजिर भएका छैनन्। मधेश प्रदेशको बेवसाइटमा कर्णाली प्रदेशको कायममुकायम प्रमुख सचिवमा सरूवा भएका कमलप्रसाद भट्टराई नै कायममुकायम प्रमुख सचिवको भूमिकामा रहेका छन्। शोभाकान्त मधेश नपुग्दा कामु खुस्किएका भट्टराईलाई नै कायममुकायम प्रमुख सचिव देखाइएको छ।

शोभाकान्त सचिवमा बढुवा भएर गण्डकी प्रदेशमा सरूवा हुँदा पनि यस्तै गरेका थिए। मुस्किलले २ हप्ता गण्डकी प्रदेश बसेका उनी त्यता नजान क्यानका तात्कालीन डिजी प्रदिप अधिकारीको शरणमा पुगेका थिए। अहिले पनि भदौं पहिलो हप्ता संघमा नल्याए राजीनामा दिने भने महालेखा नियन्त्रक कार्यालयको बिदाइ कार्यक्रममा घोषणा गरेको विषय निकै चर्चामा छ। ऐनसलको करछली काण्डमा ठूला करदाता कार्यालयको प्रमुख रहेका शोभाकान्त विवादित कर्मचारी हुन्। उनी अहिलेसम्म मधेश प्रदेश पुगेका छैनन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ