सुनसरीमा मध्यरातमा झडप: गोली लागेर एक जनाको मृत्यु
९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते
इनरुवा। सुनसरीको देवानगञ्जमा दुई समूहबीचको झडप हुँदा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र प्रहरी गरी २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति सवा १० बजेतिर साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाने क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएका थिए । त्यसक्रममा दुवै पक्षबीच सुरु भएको भनाभन ठेलाठेलमा परिणत हुँदै झडपमा बदलिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी चौकी कप्तानगन्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेको थियो । तर, त्यसपछि दुवै समुदायका थप मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा पुगेपछि अवस्था थप तनावग्रस्त बनेको थियो ।
बोलबम यात्राका लागि डिजे बजाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि कप्तानगन्ज बजारमा तोडफोड र आगजनी भएको छ ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको जनाएको छ । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनु परेकाे जनाएको छ।
प्रहरीका अनुसार दुई समूहबीचको झडप बढ्दै गई कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी गर्न थालिएपछि अवस्था नियन्त्रणमा लिन गाेली चलाउनु परेकाे हाे ।


तपाईको प्रतिक्रिया दिनुहोस