शिक्षा प्रशासनबाट प्रशासनमा मिसिएका ४ सचिव
काठमाडौं। शिक्षा प्रशासनका सहसचिवहरूको प्रशासन सेवाको सचिवमा सशक्त उपस्थिति देखिन्छ। फरक पृष्ठभूमिका सहसचिवहरू प्रशासनतिरको सचिव बन्दा समस्या पनि आउने गरेको छ। त्यसको उदाहरण हुन् पूर्व गृहसचिव टेकनारायण पाण्डे। शिक्षातिरबाट आएका पाण्डेलाई गृहसचिव बनाउदा उनले अहिले जेल जीवन बिताउनु परेको छ। नक्कली भुटानी शरणार्थी काण्डमा पाण्डे दोषी ठहर भएका छन्। शिक्षा प्रशासनलाई गृह प्रशासन चलाउन दिँदा के हुन्छ भन्ने उदाहरण उनै पाण्डे हुन्।
शिक्षा प्रशासनबाट प्रशासनतिरका सचिव भएका अझै ४ जना बाँकी छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख सचिव कमलप्रसाद पोखरेल, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल शिक्षातिरबाट आएका सचिव हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयबाहेक अन्य ठाउँमा काम गर्न उनीहरूलाई त्यति सहज देखिंदैन। सूर्यप्रसाद गौतम त्यसका अपवाद हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीका सचिव खगेन्द्रप्रसाद नेपाल पनि शिक्षातिरबाटै आएका सचिव थिए। ५ वर्ष पूरा भएर उनी घर गइसकेका छन्। नेपाल घर गएसँगै उनको विशेष दरबन्दी पनि उडेको छ।
शिक्षातिरबाट आएका सचिवहरू हरिप्रसाद लम्साल, खगेन्द्रप्रसाद सुवेदी, देवकुमारी गुरागाईं, टेकनारायण पाण्डे र सूर्यप्रसाद गौतम अवकाशमा गइसकेका छन्। अब चूडामणि पौडेल, कमलप्रसाद पोखरेल, कृष्णप्रसाद काप्री र बैकुण्ठप्रसाद अर्याल बाँकी छन्।
लुम्बिनीका प्रमुख सचिव काप्री चालू आर्थिक वर्षमै अवकाशमा जाने सूचीमा छन्। उनको जागिर ९ महिना पनि बाँकी छैन। सचिव पौडेल र पोखरेल आगामी आर्थिक वर्षमा अवकाशमा जाने सूचीमा छन्। दुबै सचिव २०८४ भदौंमा अवकाशमा जाने सूचीमा छन्। उनीहरूको जागिर १३ महिना बाँकी छ। सुदूरपश्चिमका प्रमुख सचिव अर्यालको मात्र २०८७ सालसम्म जागिर रहेको छ। निजामती सेवा सम्बन्धी नयाँ कानुन आए उनको पनि के हुन्छ भन्न सकिन्न।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस