सुनसरीमा सुरक्षा अवस्था थप तनावग्रस्त, सडकमा सेना 


इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा जारी कर्फ्यूका बीच आगजनी, तोडफोड र प्रदर्शन उग्र बन्दै गएपछि नेपाली सेना ब्यारेकबाट निस्किएर परिचालन गरिएको छ। देवानगञ्जमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेसँगै प्रशासनले कर्फ्यू जारी गरेको छ।

कर्फ्यू अवज्ञा गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएर टायर बाल्ने, आगजनी तथा तोडफोड गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको मात्रै बलले अवस्था नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गरिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कर्फ्यू लागू गरिएका क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। बख्तरबन्द गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगञ्ज पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ।

आइतबार राति दुई समुदायबीच तनाव चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। उक्त घटनामा एकजनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्।

घटनापछि सुनसरीको लौकही, इनरुवा, देवानगञ्ज, हरिनगरलगायत विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीहरूले समूह–समूह बनाएर सडकमा उत्रिँदै सवारीसाधन सञ्चालन अवरुद्ध पार्नुका साथै केही स्थानमा सवारीसाधनमा तोडफोड, आगजनी तथा पूर्व–पश्चिम राजमार्गसहित मुख्य सडकहरू अवरुद्ध पारेका छन्।

जिल्लाका विभिन्न स्थानमा बजार आंशिक रूपमा प्रभावित भएका छन् भने सर्वसाधारणमा त्रासको अवस्था देखिएको छ। सुरक्षा चुनौती बढ्दै गएपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा दंगा नियन्त्रणका विशेष टोलीहरू समेत सुनसरी झिकाइएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जसहित संवेदनशील क्षेत्रको अवस्था थप बिग्रिन नदिन प्रदेशका विभिन्न जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, कर्फ्यू तथा सुरक्षा निकायका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। जिल्लाको समग्र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अझ कडा पारिएको प्रशासनले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ