सहकारी बेथितिमा मुछिएका उपसचिव आचार्य विभागको महत्त्वपूर्ण भूमिकामा
काठमाडौं। सहकारीको बेथितिमा मुछिएका उपसचिव खिमानन्द आचार्य भूमि व्यवस्थापन विभागको महत्त्वपूर्ण भूमिका रहेको पाइएको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनले सहकारी विभागका तत्कालीन उपरजिष्ट्रार(उपसचिव) खिमानन्द आचार्यमाथि पनि विस्तृत अनुसन्धान गर्न कारबाही सिफारिस गरेको छ। उनै आचार्य भूमि व्यवस्थापन विभागको जग्गा प्रशासन जस्तो महत्त्वपूर्ण शाखाको जिम्मेवारी रहेको पाइएको हो।
आचार्य रूद्रप्रसाद पण्डित र झलकराम अधिकारी सहकारी विभागको रजिष्ट्रार हुँदा उपरजिष्ट्रारको भूमिकामा संस्था शाखा तथा सेवा विस्तारमा जोडिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। भूमि व्यवस्था मन्त्रालयले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन कार्यान्वयनको प्रारम्भिक चरणमा आचार्यलाई पनि स्पष्टीकरण सोधेको देखिन्छ। तर स्पष्टीकरण भेटेका उनै आचार्य भूमि व्यवस्थापन विभागको जग्गा प्रशासन जस्तो शाखा प्रमुखको भूमिकामा रहेको पाइएको हो।
सहकारीमा देखिएको बेथितिमाथि एक्सन लिन मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन लैजाने निर्णय गर्दै भूमि व्यवस्था मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले प्रतिवेदनमा समेटिएका पदाधिकारीहरूलाई स्पष्टीकरण पनि सोधे जस्तो गरेको छ। तर, उक्त बेथितिमा जोडिएका उपसचिव आचार्यलाई विभागको जग्गा प्रशासन शाखामै निरन्तरता दिएर सुशासनको खिल्ली उडाएको पाइन्छ। उक्त प्रकरणले मन्त्रालयले कतै दोहोरो चरित्र त देखाएको हैन भनेर गम्भीर प्रश्न उठेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस