४ सचिवको सरूवा: सञ्चारमा पोखरेल, भट्टराईलाई कामु प्रमुख सचिवको जिम्मेवारी
काठमाडौं। सरकारले ४ जना सचिवको सरूवा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ४ सचिवको सरूवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारले सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा डा. कमलप्रसाद पोखरेललाई पठाउने निर्णय गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी (पोखरेल) सञ्चार सचिवको भूमिकामा पुगेका हुन्। सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको भने राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरूवा गरिएको हो। गत माघमा सञ्चार सचिव भएकी बस्नेत ६ महिनापछि तथ्याङ्क कार्यालय पुगेकी हुन्।
सञ्चारबाट महिला मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा पुगेकी राधिका अर्यालको कर्णाली प्रदेश सरूवा भएको छ।
बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको हो। २ हप्ता मात्र जागिर बाँकी रहेका अधिकारीलाई पेन्सनपट्टा लगायत अन्य सेवा सुविधा निकाल्न सहज होस् भनेर सरकारले सिंहदरबारमा ल्याइदिएको छ। बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा भने कमलप्रसाद भट्टराईलाई खटाइएको छ। मधेशबाट कर्णाली पुगेका भट्टराई सुर्खेत नै नटेकी धनुषाबाट हेटौंडा उक्लिने भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस