घर जान दिनगन्ती सुरू भएका दुई सचिव प्रधानमन्त्री कार्यालयको जगेडामा
काठमाडौं। घर जान दिनगन्ती सुरू भएका दुई सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका छन्। लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली सोमबारबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर घर जान लागेका हुन्।
सचिव मैनाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा बिहीबार (आज), शुक्रबार र सोमबार हाजिर हुनेछन्। शनिबार र आइतबार बिदा परेकाले मैनालीले जगेडामा ३ दिन मात्र हाजिर गर्न पाउनेछन्। त्यसपछि उनी नफर्किने गरी सिधै घर जानेछन्।
मैनाली घर जाने तरखरमा रहेको बेला प्रधानमन्त्री कार्यालयको जगेडामा दिनगन्ती सुरू भएका अर्का सचिव बाबुराम अधिकारी आउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको छ। उक्त निर्णयसँगै २० दिन जागिर बाँकी रहेका अधिकारी प्रधानमन्त्री कार्यालयको जगेडामा तानिएका छन्। सचिव अधिकारीको पनि दिनगन्ती सुरू भइसकेको पाइन्छ।
सचिव अधिकारी भदौ ३ गतेबाट अनिवार्य अवकाशमा जान लागेका छन्। २ र ३ गते शनिबार र आइतबार बिदा परेकाले अधिकारीले भदौ १ गते शुक्रबारबाटै जगेडा खाली गर्नुपर्नेछ। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। मैनाली जगेडाबाट आउट हुने र अधिकारीले इन्ट्री मार्ने समय एउटै पर्न सक्ने सम्भावना छ।
क्याटेगोरी : समाचारट्याग : #बाबुराम अधिकारी, #हरिप्रसाद मैनाली


तपाईको प्रतिक्रिया दिनुहोस