एक महिनाभित्रै गृहसहित प्रशासनका ४ सचिव घर जाने सूचीमा


काठमाडौं। एक महिनाभित्रै गृहसचिव राजकुमार श्रेष्ठसहित ४ सचिव अनिवार्य अवकाशमा जाँदैछन्। गृह सचिव श्रेष्ठसहित, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली र बाबुराम अधिकारी घर जान लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव मैनाली साउन १८ गतेबाटै अनिवार्य अवकाशमा जाँदैछन्। उनी सचिवको ५ वर्षे कार्य अवधि पूरा गरेर घर जान लागेका हुन्। सचिव मैनालीले अब ३ दिन मात्र जगेडामा हाजिर गर्न पाउनेछन्।

भदौं लाग्नसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा अनिवार्य अवकाशमा जानेछन्। उनी भदौ १ गतेबाटै घर जानेछन्। ५ वर्ष पूरा सचिव भएर उनी घर जान लागेका हुन्।

बागमती प्रदेशबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरूवा भएका सचिव बाबुराम अधिकारी पनि भदौं १ गतेबाटै घर जानेछन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।

भदौं २ र ३ गते बिदा भएकाले १ गते नै सचिव अधिकारीको हाजिर गर्ने अन्तिम दिन हुनेछ। दुई दिन बिदा भएकाले अख्तियारका सचिव शर्मा र जगेडाका सचिव अधिकारी एकैदिन घर जाने अवस्था देखिन्छ।

गृहसचिव राजकुमार श्रेष्ठ ५ वर्षे सचिवका कार्यकाल पूरा गरेर भदौ १५ गते घर जाने सूचीमा छन्। शक्तिशाली मानिएको गृहसचिव पनि एक महिनाभित्रै खाली हुँदैछ। गृहसचिवको चर्चामा मुकुन्दप्रसाद निरौला, केदारनाथ शर्मा, दिपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी, घनश्याम उपाध्याय, मदन भुजेललगायत रहेका छन्। मुलुकले एक महिनाभित्रै नयाँ गृहसचिव पाउने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ