भूमि व्यवस्थाको फाजिलमा परेका सहसचिव अन्यन्त्र व्यवस्था गरिए, जगेडामा आधा दर्जन सहसचिव थुप्रिए


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फाजिलमा परेका सहसचिवहरूलाई अन्यन्त्र व्यवस्थापन गरिएको छ। भूमि र संघीय मर्ज भएर नयाँ ‘ओएन्डएम’पछि फाजिलमा परेका वरिष्ठ सहसचिव नारायणप्रसाद सापकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ। भूमि कै सहसचिव गोविन्दप्रसाद रिजाललाई विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रालयमा पठाइएको हो।

भूमि कै फाजिलमा परेका सहसचिव ध्रुव घिमिरेलाई राष्ट्रिय योजना आयोग पठाइएको छ। शाखा अधिकृत हुँदा राष्ट्रिय योजना आयोगमा बसेर पढ्ने मात्र काम गरेका घिमिरे उपसचिव भएपछि पनि त्यहीं बसेर पढेका थिए। काम भन्दा पढ्ने कुरामा फोकस हुने सहसचिव घिमिरे अन्य मन्त्रालयमा त्यति ‘फिट’ भएका थिएनन्। उनलाई राष्ट्रिय योजना आयोगतिरै पठाइएको हो।

राष्ट्रिय किताबखानामा महानिर्देशक मात्र सहचिवको दरबन्दी भएपछि श्रवणकुमार पोखरेल गृह मन्त्रालय सरूवा भएका छन्। किताबखानाको कमाण्ड आरती न्यौपानेले सम्हाले सम्भावना छ।

सामान्यको बरण्डामा आधा दर्जन सहसचिव थुपारिएका छन्। सहसचिव शंकरहरि आचार्य, विनोद लामिछाने, राजेन्द्रदेव पाण्डे, रुदप्रसाद लामिछाने, कृष्णबहादुर शाही र चन्द्रबहादुर शिवाकोटी सामान्यको बरण्डामा पुगेका हुन्।

लुम्बिनी प्रदेशका सचिवबाट सामान्यको बरण्डामा पुगेका सहसचिव विनोद लामिछाने असोज १४ अनिवार्य अवकाशमा जाने सूचीमा छन्। वैदेशिक रोजगार विभागको उपमहानिर्देशक हुँदै अहिले वैदेशिक रोजगार बोर्डको सचिवालय सम्हालिरहेका चन्द्रबहादुर शिवाकोटी असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। थारू आयोगका सचिवबाट सामान्यको बरण्डामा तानिएका सहसचिव रूद्रप्रसाद लामिछाने कार्तिक १८ गते ५८ वर्ष पूरा घर जान लागेका हुन्। राष्ट्रिय महिला आयोगबाट जगेडामा तानिएका सहसचिव आचार्यको मात्र अलि धेरै समय जागिर बाँकी देखिन्छ।

नेपाल ट्रष्टको कार्यालयबाट सामान्यको बरन्डामा तानिएका सहसचिव राजेन्द्रदेव पाण्डे फागुन १० गते र बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिवबाट सामान्यको बरण्डामा तानिएका सहसचिव कृष्णबहादुर शाही वैशाख २० गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। २ देखि ८ महिनाभित्र अवकाशमा जाने सूचीमा रहेका सहसचिवहरूलाई सामान्यको बरण्डामा तानिएको हो।

उद्योग मन्त्रालयबाट ६ महिना अघि सुदूरपश्चिम प्रदेश पुगेका देवराज जोशी अर्थ मन्त्रालय सरुवा भएका छन्। गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएका जोशी ६ महिनामै सुदूरपश्चिम प्रदेशबाट अर्थ मन्त्रालय भित्रिन सफल भएका छन्। सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीलाई भने सुदूरपश्चिम प्रदेश सरूवा गरिएको छ।

महिला मन्त्रालय झन्डै ४ वर्षदेखि डेरा जमाएकी आभा श्रेष्ठलाई मधेश प्रदेश पठाइएको छ। एक वर्षभन्दा लामो समयदेखि मधेशमा बसेका सहसचिव योमेन्द्र उपाध्यायको महिला, बालबलिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयमा सरूवा भएको हो।

राष्ट्रपति कार्यालयका सहसचिव बलराम ढकाल थारू आयोग सरुवा भएका छन्। राष्ट्रपति कार्यालयमा दरबन्दीभन्दा बढी सहसचिव पुगेपछि ढकालको थारू आयोगमा सरूवा गरिएको हो।

राजस्व अनुसन्धान विभाग खारेज भएपछि उक्त विभागका महानिर्देशक रहेका तीर्थराज चिलुवाललाई गण्डकी प्रदेश पठाइएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव ऋषिराज आचार्यलाई लगानी बोर्डको सचिवालयमा ल्याइएको छ। उनी गण्डकी पुगेको एकवर्ष बढी भइसकेको थियो।

गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुली र नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुमन घिमिरे आउट भएका हुन्। गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीको राष्ट्रिय महिला आयोग र सुमन घिमिरेको नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएको हो। उपराष्ट्रपति कार्यालयका सहसचिव चिरञ्जीवी पौडेलको गृह मन्त्रालयमा सरूवा भएको छ।

राष्ट्रिय योजना आयोगका सहसचिव राजेश गौतम लुम्बिनी प्रदेश प्रमुखको कार्यालय र सञ्चार मन्त्रालयका सहसचिव सुवाशचन्द्र शिवाकोटीको दाङको तुलसीपुर उपमहानगरपालिकामा सरूवा भएको छ। तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेललाई भने कहाँ व्यवस्थापन गरियो थाहा छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लोक सेवा आयोगबाट सहसचिव प्रधुम्नप्रसाद उपाध्यायलाई ल्याइएको छ। उनी प्रधानमन्त्री कार्यालयका लागि उपयुक्त सहसचिव हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ