बढेको तलब खाएसँगै ३ सहसचिवले दिए राजीनामा
काठमाडौं। बढेको तलब खाएसँगे ३ सहसचिवले राजीनामा दिएका छन्। नेपाल प्रशासन सेवाका सहसचिव शिवादेवी दाहाल, लोकप्रसाद न्यौपाने र र टेकनारायण पौडेलले साउन लाग्नेबित्तिकै राजीनामा दिएका हुन्। राजीनामा दिएकामध्ये दाहालको साढे ३ वर्ष, न्यौपाने र पौडेलको डेढ वर्ष जागिर बाँकी देखिन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेकी सहसचिव दाहाल २०७६ सालमा कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा भएकी थिइन्। दाहाल २०८६ माघसम्म जागिर बाँकी रहेकी दाहाल पछिल्लो समय स्वास्थ्य समस्याको कारण देखाउँदै कार्यालय आउन छाडेकी थिइन्। ६ महिना अगाडि नै राजीनामा दिने मनस्थिति बनाएकी दाहाललाई धेरैले राजीनामा नदिन सल्लाह दिएका थिए। तर, उनले राजीनामा दिने अडान नत्यागेपछि सहसचिव दाहालको राजीनामा स्वीकृत गरिएको हो। उनको सरकारी सेवाको यात्रा साउन लाग्नेबित्तिकै रोकिएको छ।

राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव लोकप्रसाद न्यौपानेले समेत राजीनामा दिएर बाटो तताएका छन्। २०८४ माघसम्म डेढ वर्ष जागिर बाँकी रहेका न्यौपानेले साढे ५६ वर्षकै उमेरमा राजीनामा दिएर आफ्नो बाटो लागेका हुन्। कार्यक्षमताका आधारमा २०७९ साल माघमा सहसचिवमा बढुवा भएका न्यौपाने साढे ३ वर्षमै जागिर छाडेका हिँडेका हुन्। उनी साढे ५६ वर्षका भए। ३०-५५ नआएपछि उनी राजीनामा दिएका हिँडेका छन्।
४ जना सहसचिव रहेको राष्ट्रिय योजना आयोगमा ७ जना सहसचिव रहेका थिए। न्यौपानेसहित सहसचिवहरू हरिशरण पुडासैनी, खोमराज कोइराला, नवराज ढुंगाना, मिमांस अधिकारी, अर्जुन भण्डारी र राजेश गौतम योजना आयोगमा ‘डम्प’ गरिएका छन्। न्यौपानेले छाडेको राष्ट्रिय योजना आयोगको ‘डम्पिङ साइट’बाट सहसचिव राजेश गौतमको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सरूवा भएका छन्।

राष्ट्रिय योजना आयोगमा दुई सहसचिव घट्दा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहसचिव ध्रुव घिमिरे थपिएका हुन्। अझै आयोगमा दरबन्दी भन्दा दुई सहसचिव बढी हुन पुगेका छन्। सहसचिव पुडासैनी कार्तिकमा घर जाने भएकाले ३ महिनापछि एक घट्ने देखिन्छ।
६ महिना अघि मात्र सहसचिवमा बढुवा भएका टेकनारायण पौडेलले पनि १६ महिना जागिर छदै राजीनामा दिएर हिँडेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर हुनेबित्तिकै सहसचिव पौडेलले राजीनामा दिएका हुन्। पौडेल २०८४ मंसिर १५ गते ५८ वर्ष पूरा हुँदैछन्। तुलसीपुरको प्रमुख प्रशासकीय अधिकृतमा सुवास चन्द्र शिवाकोटीको सरूवा भइसकेको छ।

डेढ वर्षदेखि साढे ३ वर्षसम्म जागिर रहेका ३ सहसचिव राजीनामा दिएर हिँडेका छन्। बढेको तलबको प्रतिक्षामा रहेका उनीहरूले साउन लाग्नेबित्तिकै राजीनामा दिएका हुन्। यस्तैगरी ५५ वर्ष कटेका सहसचिवहरूले भटाभट राजीनामा दिने हो भने सरकारलाई भिजन र मिसन अनुसार काम गर्न/गराउन धेरै सहज हुने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #टेकनारायण पौडेल, #बढेको तलब खाएसँगै राजीनामा, #लोकप्रसाद न्यौपाने, #शिवादेवी दाहाल


तपाईको प्रतिक्रिया दिनुहोस