घुस लिँदालिँदै ललितपुर मालपोतका ३ सुब्बा अख्तियारको फन्दामा


काठमाडौं। घुस लिँदालिँदै भूमि प्रशासन (मालपोत) कार्यालय लगनखेल, ललितपुर ३ सुब्बा अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको हो। लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाल समेत उक्त प्रकरणमा पक्राउ परेका हुन्।

मालपोतका ३ नायब सुब्बा र दुई लेखापढी व्यवसायी समेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको ३ लाख रुपैयाँ लिइसकेको अवस्थामा र श्रोत नखुलेको २४ हजार ८ सय ९० रूपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। उनीहरूलाई घूस र श्रोत नखुलेको रकमसहित ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार जानकारी दिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #उत्तम कुँवर, #राजकुमार मगर, #विशाल सुन्दास

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ