उद्योग मन्त्रालयमा प्रशासनका ३ सहसचिव फाजिलमा


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल प्रशासन सेवाका ३ सहसचिव फाजिलमा पर्ने भएका छन्। ७ वटा महाशाखा रहेको उद्योगमा पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)मा ४ वटामा कायम गरिएको छ। प्रशासन कै सहसचिव कार्यकारी निर्देशक रहने लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र पनि उद्योग विभागमा गाभिएपछि वेदप्रसाद खरेल फाजिलमा परेका छन्।

उद्योग मन्त्रालयमा यसअघि संस्थान तथा प्रशासन महाशाखा, औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा, औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखा रहेका थिए।

एकै प्रकृतिका औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा र औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखालाई औद्योगिक लगानी प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकास महाशाखा बनाइएको छ।

औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख कल्पना श्रेष्ठ र औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख युवराज अधिकारी रहेका छन्। महाशाखा गाभिएपछि दुईमध्ये एक सहसचिव फाजिलमा पर्ने देखिन्छ।

त्यस्तै संस्थान तथा प्रशासन महाशाखा र योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा गाभिएर प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा बनेको छ। संस्थान तथा प्रशासन महाशाखा प्रमुखमा रामबन्धु सुवेदी र योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा प्रमुख नेत्रप्रसाद सुवेदी रहेका छन्। दुई महाशाखा मिलेर प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा बनेपछि सुवेदी बन्धुमा एक फाजिलमा पर्ने भएका हुन्।

एकै प्रकृतिका बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा र द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा गाभिएर द्विपक्षीय तथा बहुपक्षीय व्यापार महाशाखा बनेको छ। बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा प्रमुख हुकमला पाण्डे र द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बुद्धबहादुर गुरुङ रहेका छन्। उद्योगमा दुई वर्ष हुन लागेकी हुमकला र गुरूङमध्ये एक फाजिलमा पर्नेछन्।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखामा संस्थान गाभिएर संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखामा बनेको छ। उक्त महाशाखा खाली भएकाले एक सहसचिव त्यहाँ व्यवस्थापन हुने ठाउँ देखिन्छ। फाजिलमा परेका लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सहसचिव वेदप्रसाद खरेल वैशाख ७ गतेसम्म मात्र जागिर बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ