काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल, सहसचिव केसी अख्तियारबाट ‘आउट’


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव मुक्तिराम अर्याल सरूवा भएका छन्। पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएसँगै रिक्त स्थानमा अर्याललाई पठाइएको हो। अर्याल एक वर्ष अघि मात्र पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन्।

गुल्मी मालिकाका अर्याल डेढ वर्ष अगाडि मात्र आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। डेढ वर्ष कै बीचमा अर्यालले पोखरा र काठमाडौं जस्ता ठूला दुई महानगरपालिकाका हाँक्ने अवसर पाएका हुन्।

अर्याल पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुअघि लोक सेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत थिए। त्यहाँबाट पोखरा महानगरपालिका हुँदै काठमाडौं भित्रिएका छन्।

यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रशासन हेर्ने सहसचिव रमेश कुमार केसीको कर्णाली प्रदेशमा सरूवा भएको छ। अख्तियारमा केही समय अघि सहसचिव नारायणप्रसाद सापकोटालाई पठाइएको थियो। त्यसपछि अख्तियारबाट रमेशलाई सरूवा गरेर कर्णाली प्रदेश पठाइएको हो।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव महेश चन्द्र न्यौपानेको गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरूवा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ