सामान्यले स्थानीय तहमा सहसचिवको नेतृत्वमा खटायो टोली
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सहसचिवको नेतृत्वमा टोली खटाएको छ। बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण मन्त्रालयले सहसचिव नेतृत्वको टोली आज फिल्डमा खटाइएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चालू आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको हो। सहजीकरणका लागि सहसचिव नेतृत्वको संयुक्त टोली फिल्डमा खटाइएको छ। विभिन्न पहल, प्रयास तथा समन्वयमार्फत बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि हालसम्म नगरसभामा बजेट पेश हुन नसकेका स्थानीय तहमा उक्त टोली जान लागेको हो। स्थानीय तहको बजेट प्रक्रिया लामो समयसम्म अवरुद्ध हुँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमा नै सहजीकरण गर्न लागेको हो।
सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस