बुढानिलकण्ठ मन्दिर क्षेत्रमा मुअब्जा लिएका घर खाली नभएपछि तात्यो काठमाडौं प्रशासन


काठमाडौं। बुढानिलकण्ठ मन्दिर क्षेत्रमा मुअब्जा लिएर पनि घर खाली नगरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं तातेको छ। २०४४ साल भदौमै मुअब्जा लिएका जग्गा धनीहरूले मन्दिरको जग्गामा कब्जा जमाएपछि प्रशासनले एक्सन लिन खोजेको हो। ३९ वर्ष अगाडि नै गर्नुपर्ने काम बल्ल हुन लागेको छ।

जग्गा प्राप्ती ऐन, २०३४ बमोजिम अधिग्रहण गरी मुअब्जा समेत दिएका जग्गाहरू खाली नभएको फेला परेपछि जिल्ला प्रशासन कार्यालयले कानुन कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ। अदालतको फैसला कार्यान्वयन गर्न समेत जिल्ला प्रशासन कार्यालय अग्रसर भएको हो।

काठमाडौं प्रशासनले बुढानिलकण्ठ मन्दिर क्षेत्रमा अतिक्रमण भएका सरकारी, सार्वजनिक वा पर्ति जग्गा खाली गराउने अभियान पनि सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय, नापी र भूमि प्रशासन कार्यालयका अधिकृतहरूको संयुक्त टोलीले त्यस्ता जग्गाको एकिन गरेर चिनो लगाउने काम समेत गरिसकेको हो।

साविकमा मुअब्जा बुझी हालसम्म पनि बुढानिलकण्ठ मन्दिर क्षेत्र ओगटी बसिरहेका र सार्वजनिक वा पर्ति जग्गा ओगटी बसिरहेका सम्पूर्ण व्यक्तिहरूलाई दिन दिन (भदौ ३ गते बुधबार)भित्र संरचना वा जग्गा खाली गर्न प्रशासनले सूचना जारी छ। ७ दिनपछि घर संरचना हटाइ संरक्षण गरिने र सार्वजनिक प्रयोजनमा प्रयोगमा ल्याइने प्रशासनले सार्वजनिक सूचनामार्फत् स्पष्ट पारेको हो।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको बुढानिलकण्ठ मन्दिर

प्रसिद्ध शिवपुरी डाँडाको दक्षिण फेदीमा अवस्थित बुढानिलकण्ठ क्षेत्रमा बुढानिलकण्ठ मन्दिर रहेको छ। अति नै रमणीय, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको उक्त मन्दिर अतिक्रमणको चपेटामा परेको हो। विश्वका हिन्दुहरूले मान्ने जलसयी नारायणको मूर्ति (मन्दिर)माथि अतिक्रमणका कारण अस्तित्व नै संकटमा पर्न थालेको थियो। कार्तिक र वैशाख तथा एकादशीका दिन विशेष भिडभाड लाग्ने उक्त मन्दिर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

हिन्दु तथा सनातन धर्म मान्ने दर्शनार्थीहरू विश्वका विभिन्न देशबाट बुढानिलकण्ठमा आउने गरेका छन्। उक्त धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको बुढानिलकण्ठ मन्दिर र त्यसले चर्चेको क्षेत्र लामो समयदेखि अतिक्रमण परेको छ। मुअब्जा समेत दिइसकेको लामो समयदेखि खाली हुन नसकेपछि सरकारले मन्दिर क्षेत्र संरक्षणमा अग्रसरता देखाएको हो। ३९ वर्षदेखि खाली हुन नसकेको ऐतिहासिक बुढानिलकण्ठ मन्दिर क्षेत्र संरक्षणका लागि प्रशासन अघि सरेको हो। बुढानिलकण्ठका महन्त निगामानन्द मन्दिर संरक्षण र अतिक्रमण हटाउन लामो समयदेखि संघर्ष गर्दै आएका थिए। ज्यान नै जोखिममा राखेर मुद्दा मामिलादेखि मन्दिर जोगाउन हरेक हिसाबले उनी संघर्षरत थिए। अब भने उनले सरकार र प्रशासनको साथ पाएका छन्। अतिक्रमणको चपेटाबाट बुढानिलकण्ठ मन्दिर मुक्त हुने दिशातर्फ अघि बढेकाे हो।

क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ मन्दिर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ