उपसचिव सिडिओ भएका ४ जिल्लामा व्यवस्थापन, ५ जिल्लामा पठाइएको छैन उपसचिव सिडिओ


काठमाडौं। गृह मन्त्रालयले हालै उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ)को दरबन्दी कायम गरेका ४ जिल्लामा व्यवस्थापन भएको छ। सहसचिवको दरबन्दी रहेको जुम्ला, अछाम र डडेलधुरामा उपसचिव सिडिओ रहेका थिए। गृह मन्त्रालयको पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)ले यी जिल्लामा उपसचिव सिडिओको दरबन्दी कायम गरेको छ। उक्त निर्णयसँगै ३ जिल्लाका उपसचिव सिडिओ ढुक्क भएका हुन्।

जुम्लामा उपसचिव तेजप्रकाश प्रसाईं, अछाममा उपसचिव यज्ञबहादुर बुढा र डडेलधुरामा उपसचिव अमरबहादुर वली सिडिओ रहेका छन्। उनीहरूको पद अनुसारको दरबन्दी मिलान भएको छ। उपसचिव सिडिओको दरबन्दी कायम भएको बैतडीमा पनि गृहले त्यहाँका सहसचिव डा. डिजन भट्टराईलाई संखुवासभा पठाएर उपसचिव मिना अर्याललाई सिडिओ खटाएको छ। बैतडीमा दरबन्दी अनुसारको सिडिओ व्यवस्थापन भएको हो।

५ जिल्लामा पठाइएको छैन उपसचिव सिडिओ

गृह मन्त्रालयले सहसचिवको दरबन्दीबाट उपसचिवमा झारेसँगै भोजपुर, खोटाङ, सल्यान, जाजरकोट र रोल्पामा सिडिओ व्यवस्थापन गर्न बाँकी छ। यी पाँच जिल्लामा सहसचिव सिडिओ फाजिलमा परे पनि गृह मन्त्रालयले उपसचिव खटाइसकेको छैन। भोजपुरमा सहसचिव राजन पौडेल, खोटाङमा सहसचिव रेखा कँडेल, सल्यानमा सहसचिव महेन्द्रकुमार सापकोटा, जाजरकोटमा सहसचिव खडानन्द अधिकारी र रोल्पामा सहसचिव गंगाबहादुर क्षेत्री सिडिओ रहेका छन्। राष्ट्रिय किताबखानामा गृहको संगठन संरचना (पदनाम) दर्ता भएसँगै यी जिल्लामा सिडिओ रहेका सहसचिवहरू फाजिलमा परेका हुन्। गृहले यी पाँच जिल्लामा उपसचिव सिडिओ पठाएको छैन। दरबन्दी अनुसार उपसचिव सिडिओ खटाउन ढिला गर्नु हुँदैन्।

डोटी र सुर्खेतमा सहसचिव सिडिओ पठाउन बाँकी

डोटी र सुर्खेत जिल्लामा सहसचिव सिडिओ खटाउन बाँकी छ। डोटीमा उपसचिव कल्पना घिमिरे नेपाल सिडिओ रहेकी छिन्। उनी सिडिओ भएको पनि ९ महिना भइसकेको छ। उनलाई तानेर वा अन्यत्र सहायक सिडिओ पठाएर डोटीमा गृहको जगेडामा रहेका वा फाजिलमा परेका सहसचिवहरूलाई सिडिओ खटाउन सकिन्छ।

सुर्खेतका सिडिओ धर्मराज जोशीको सुदूरपश्चिम प्रदेशतिर सरूवा भएकाले उक्त जिल्लामा पनि सहसचिव सिडिओ खाली छ। त्यहाँ फाजिल वा जगेडामा रहेका सहसचिवको व्यवस्थापन गर्ने ठाउँ देखिन्छ।

गृहमा ११ सहसचिव, ५ खाली

गृह मन्त्रालयमा फाजिलमा परेका र जगेडामा रहेका गरी १० सहसचिव रहेका छन्। गृहको जगेडामा भूपेन्द्र थापा, पुष्पराज शाही, श्रवणकुमार पोखरेल, चिरञ्जीवी पौडेल र बासुदेव घिमिरे रहेका छन्। त्यस्तै उपसचिवको दरबन्दी कायम भएपछि सहसचिवहरू राजन पौडेल, रेखा कँडेल, महेन्द्रकुमार सापकोटा, खडानन्द अधिकारी, गंगाबहादुर क्षेत्री र बलराम निरौला फाजिलमा परेका हुन्।

गृह मन्त्रालयको प्रशासन र नीति योजना महाशाखा, डोटी र सुर्खेतको सिडिओ तथा लागू औषध नियन्त्रण ब्यूरो गरी ५ ठाउँमा सहसचिव व्यवस्थापन गर्नु पर्ने छ। तर, गृहमा ११ सहसचिव रहेकाले व्यवस्थापन गर्दा ठूलो लट सरूवा गर्नुपर्ने देखिन्छ। ३०-५५ वाला कानुन तत्काल अध्यादेशबाट आए आफैं व्यवस्थापन हुने अवस्था छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ