रक्तदान तथा नेत्रदान महाअभियानकाे  सद्भावना दूतमा ‘मह जोडी’


काठमाडौं । तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदान महाअभियान घोषणा गरेको छ। परिषद्ले आगामी असोज १ देखि ७ गतेसम्म सप्ताहव्यापी रक्तदान तथा मरणोपरान्त नेत्रदान कार्यक्रममा जनसहभागिताका लागि आह्वान गरेको हो।

परिषद्ले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’अभियानको सद्भावना दूत समेत घोषणा गरेको हो। रक्तदान र नेत्रदानसम्बन्धी देशभर जनचेतना फैलाउँदै अभियान सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष निश्चल लालवानीले बताए।

उनका अनुसार वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यको सामाजिक प्रभाव, जनस्तरसम्मको पहुँच तथा मानवीय अभियानप्रतिको प्रतिबद्धताले अभियानलाई सफल बनाउन थप मद्दत गर्नेछ।

परिषद्ले उक्त रक्तदान/नेत्रदान कार्यक्रममा सहभागिताका लागि व्यवसायिक प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संगठन, धार्मिक समुदाय र आमनागरिकतासँग सहकार्यको आह्वान गरेको छ।

अध्यक्ष लालवानीले प्रत्येक स्वस्थ नागरकहरूलाई नियमित स्वैच्छिक रक्तदान गर्न आग्रह गरे। ‘यसपटक हामी रक्तदान कार्यक्रममात्रै गराउँदैनौँ। नियमित रक्तदानका लाग सचेतना पनि फैलाउँछौँ,’ उनी भन्छन्, ‘त्यससँगै प्रत्येक परिवारलाई मरणोपरान्त नेत्रदानबारे चिया चौतारा, बैठक, भेला र छलफलहरूमा कुराकानी गर्न आग्रह गर्छौँ।’

उनका अनुसार २५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय परिषद्ले यसअघि २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गरेको छ भने १४ जनाको मरणोपरान्त नेत्रदान सम्पन्न भइसकेको छ।

अध्यक्ष लालवानीले रक्तदान/नेत्रदान प्रत्येक व्यक्ति र परिवारको जीवन संस्कारका रुपमा स्थापित हुनुपर्ने बताए। ‘हाम्रो सानो सहयोगले जीवनकालमा नियमित स्वैच्छिक रक्तदानमार्फत् बिरामीको जीवन बचाउने र मृत्युपश्चात् नेत्रदानमार्फत् दृष्टिविहीनको जीवनमा उज्यालो प्रदान गर्ने दुवै मानवीय दायित्वलाई एउटै अभियानमा जोड्छ,’ उनले भने।

परिषद्ले पशुपतिनाथ परिसरमा दैनिक तथा बौद्धनाथ परिसरमा प्रत्येक शनिबार रक्तदान शिविर सञ्चालन गर्दै आएको जनाएको छ । यी शिविर पशुपति सेवा विकास संस्था, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, सामाजिक तथा स्वयंसेवी संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएका छन् ।

परिषद्ले दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले तीन बालबालिकाको कर्निया प्रत्यारोपण उपचार तथा शल्यक्रियामा आर्थिक सहयोग गरेको जनाएको छ ।

परिषद्का अनुसार चितवनकी ११ वर्षीया सृष्टि राउतलाई जुन २०२६ मा कर्निया प्रत्यारोपण उपचारका लागि सहयोग गरिएको थियो । त्यस्तै, भारतको बेतियाका १६ वर्षीय नीरजकुमार यादव र रामेछाप मन्थलीका १५ वर्षीय सुमित ठाकुरको कर्निया प्रत्यारोपण शल्यक्रियामा आर्थिक सहयोग गरिएको छ ।

यसका लागि ‘श्री ज्योति कुमार–चन्दा देवी बेगानी नेत्रज्योति निधि’ स्थापना गरिएको परिषद्ले जनाएको छ । उक्त निधिले आर्थिक रूपमा विपन्न दृष्टिबाधित व्यक्तिलाई आवश्यकताका आधारमा पारदर्शी र संस्थागत प्रक्रियाबाट सहयोग गर्ने लक्ष्य राखेको छ ।

यसैबीच, परिषद्को पहलमा धादिङका ५२ वर्षीय एकराज परियारको उपचारका लागि परिषद्का संरक्षक तथा समाजसेवी ज्योति कुमार बेंगानी र चन्दा देवी बेगानीका तर्फबाट एक लाख २५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

मेरुदण्डमा गम्भीर चोट लागेका परियारको लोकन्थलीस्थित सक्षम हेल्थ केयरमा पुनःस्थापना उपचार तथा फिजियोथेरापी भइरहेको छ । सहयोग रकमबाट एक महिनाको शैय्या तथा भोजन खर्च व्यवस्थापन गरिने र उपचारपछि स्वचालित ह्विलचेयर उपलब्ध गराउने प्रतिबद्धता जनाइएको परिषद्ले जनाएको छ ।

परिषद्ले आगामी २५ अगस्टदेखि ८ सेप्टेम्बरसम्म ‘नेत्रदान पखवाडा २०२६’ सञ्चालन गर्ने जनाएको छ । अभियानअन्तर्गत नेत्रदान सङ्कल्प, परिवार परामर्श, विद्यालय तथा कलेजस्तरीय अन्तरक्रिया, डिजिटल जनचेतना, विशेषज्ञ संवाद र नेत्रदानी परिवार सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछन् ।

परिषद्ले नेत्रदान व्यक्तिगत इच्छामात्र नभई परिवारको साझा निर्णयका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । मृत्युको संवेदनशील समयमा परिवार र आई बैंकबीच समयमै समन्वय गरी नेत्रदानको प्रक्रिया सहज बनाउने उद्देश्यसमेत अभियानको रहेको जनाइएको छ ।

त्यसैगरी १७ देखि २३ सेप्टेम्बरसम्म ‘रक्तदान कर्तव्यम् २०२६’ सञ्चालन गरिने भएको छ । अखिल भारतीय तेरापन्थ युवक परिषद्को मेगा ब्लड डोनेसन ड्राइभअन्तर्गत नेपालमा पनि विभिन्न रक्तदान शिविर सञ्चालन गर्ने तयारी गरिएको परिषद्ले जनाएको छ ।

अखिल भारतीय तेरापन्थ युवक परिषद्को मेगा ब्लड डोनेसन ड्राइभले सन् २०१२ मा एकै दिन ९६ हजार ६०० युनिट रक्त सङ्कलन गरेको परिषद्ले जनाएको छ । सन् २०१४ मा विभिन्न स्थानबाट एकै दिन एक लाख २१२ युनिट रक्त सङ्कलन गरी गिनिज वल्र्ड रेकर्डमा स्थान बनाएको दाबी गरिएको छ ।

सन् २०१६ मा लगातार ३६५ दिन रक्तदान शिविर सञ्चालन गरिएको तथा कोभिड–१९ महामारीका क्रममा सन् २०२० मा ५५ हजार युनिटभन्दा बढी रक्त र दुई हजारभन्दा बढी प्लाज्मा सङ्कलन गरिएको परिषद्ले जनाएको छ ।

सन् २०२२ को ‘रक्तदान अमृत महोत्सव’मा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयसँगको सहकार्यमा ४५ भन्दा बढी देशमा शिविर सञ्चालन गरी दुई लाख ५० हजारभन्दा बढी युनिट रक्त सङ्कलन गरिएको जनाइएको छ ।

परिषद्ले आगामी दिनमा रक्तदानलाई विशेष अवसरमा मात्र गरिने कार्यक्रम नभई स्वस्थ नागरिकको नियमित सामाजिक कर्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ