एउटै ‘ब्याच’का सहसचिव गृहसचिव र मुख्यसचिव


काठमाडौं। सरकारले केदारनाथ शर्मालाई गृहसचिव बनाएसँगै एउटै ‘ब्याच’का सहसचिव मुख्यसचिव र गृह सचिव बन्न सफल भएका छन्। सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको थियो। अहिले केदारनाथ शर्मालाई गृहसचिव बनाएको छ। मुख्यसचिव कार्की र गृहसचिव शर्मा एउटै ‘ब्याच’का सहसचिव हुन्।

मुख्यसचिव कार्की र गृहसचिव शर्मा २०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। सचिव बढुवा हुँदा भने कार्कीभन्दा शर्मा एक कदम अगाडि रहेका थिए। एउटै ‘ब्याच’का सहसचिव मुख्यसचिव र गृहसचिवको भूमिकामा पुगेका छन्। मोरङ र काठमाडौं जस्ता जिल्ला हाँकिसकेका शर्मा गृहका अनुभवि प्रशासक हुन्। गृहको शान्ति सुरक्षा, प्रशासन जस्ता विभिन्न महाशाखा बसेर सिडिओ चलाउने र सुरक्षा समन्वयमा अनुभव प्राप्त बागलुङका शर्माले गृहसचिवको जिम्मेवारी पाएका छन्।

२०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट केदारनाथ शर्मा, लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की, महादेव पन्थ, रघुराम विष्ट, बाबुराम अधिकारी, प्रेमकुमार श्रेष्ठ र काशीराज दाहाल सहसचिव भएका थिए। उनीहरूमध्ये श्रेष्ठ र दाहाल ५८ वर्ष उमेर हदका कारण सचिव नै नभइ अवकाश गए। बाँकी ६ जना सचिवमा बढुवा भए। लोकनाथ पौडेल, रघुराम विष्ट र बाबुराम अधिकारी सचिवबाट अवकाश पाइसकेका छन्। बाँकी रहेका कार्की मुख्यसचिव, शर्मा गृहसचिव र पन्थ राष्ट्रपति कार्यालयको सचिवको भूमिकामा रहेका हुन्। पन्थ ४ महिना र शर्मा साढे ९ महिनाभित्र अवकाशमा जाने सूचीमा छन्।

गृहसचिव राजकुमार श्रेष्ठले भदौ १५ गते अवकाश पाउने भएसँगै रक्षा सचिव शर्मालाई गृह मन्त्रालयको सचिवमा सरूवा गरिएको हो। गृहसचिव राजकुमारले सहोदर दाइ प्रेमका ‘ब्याची’ शर्मालाई गृह मन्त्रालयको प्रशासनिक कमाण्ड सुम्पिएर घर जाने भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ