सुरूङबाट मान्छे उद्धार गर्न ठूलो टोली परिचालन


काठमाडौं। रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको हो।

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।

सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ।

यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ