एक नम्बरमा सिफारिस भएर सचिव नभइ घर गए श्रीकृष्ण नेपाल


काठमाडौं। वरिष्ठ सहसचिव श्रीकृष्ण नेपाल सचिवको मुख देख्न नपाइ घर गएका छन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका हुन्।

सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएर पनि सचिव नभइ नेपाल घर जान बाध्य भएका छन्। सोमबार बढुवा समितिले सचिवमा बढुवाका लागि एक नम्बरमा श्रीकृष्ण नेपाल, दुई नम्बरमा नारायणप्रसाद भट्ट र तेस्रो नम्बरमा बिनोदबहादुर कुँवरको नाम सिफारिस गरेको थियो। तर, सोमबार मन्त्रिपरिषद्को बैठक बसेन। एक नम्बरमा सिफारिस भएका नेपाल सोमबार रातीबाटै ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका हुन्। एक नम्बरमा सिफारिस भएर पनि सचिव नभइ घर जाने ‘अभागी’ कर्मचारीमा नेपाल दर्ज भएका छन्।

२०२५ भदौ १६ गते पाल्पामा जन्मिएका नेपाल २०७१ सालमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। लेखाका उपसचिव नेपाल सहसचिव भएपछि अर्थ मन्त्रालय पेरिफेरिमा रमाएर बसे। सचिव बढुवाका मुखमा मासिक ३० लाख बढी खानेगरी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएर फिलिपिन्सको मनिलामा जागिर खान गए। अवकाश हुने बेलामा राम्रो आम्दानी हुने ठाउँमा अवसर पाएका नेपाल सचिव भने हुन पाएनन्।

सरकारले एउटै व्यक्तिलाई लाखौं खानेगरी वैदेशिक अवसर र घर जाँदाजाँदै ‘किस्ती’मा हालेर सचिव पद उपहार दिएन। यसअघि केही दिन र घण्टाका लागि सचिव बढुवा गर्ने विगतको विकृत अभ्यासलाई सरकारले निरन्तरता नदिने संकेत गरेको छ। नेपाललाई बढुवा गर्नेगरी मन्त्रिपरिषद्को बैठक नबस्नु त्यसको ज्वलन्त उदाहरण हो।

श्रीकृष्णका जेठान लेखनाथ ज्ञवालीले कुरा बुझेरै अवकाश हुनुभन्दा डेढ महिना अघि नै राजीनामा दिएर हिँडिसकेका छन्। उनी भने सचिवमा उक्लिने आशाका साथ बसिरहेका थिए। उनको सचिव पदभन्दा मुलुकमा ठूलो विपत्ति आइलागेकाले सरकारको ध्यानतिर केन्द्रित छ। वरिष्ठ सहसचिव श्रीकृष्ण नेपाल अनिवार्य अवकाशमा गएसँगै भट्ट र कुँवरमध्ये एक जना सचिवमा बढुवा हुनेछन्।

क्याटेगोरी : समाचार
ट्याग : #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ