सामान्य मन्त्रालयको जगेडामा पुगेका ८ सहसचिव


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा ८ सहसचिव पुगेका छन्। अवकाशको मुखमा रहेका सहसचिवहरू तुलसीनाथ गौतम, जयकुमार घिमिरे, रूद्रप्रसाद लामिछाने र सुशील ढकाल रहेका छन्। उनीहरू तीन हप्तादेखि ३ महिनाभित्र अवकाशमा जान लागेका हुन्।

त्यसै चालू आर्थिक वर्षभित्रै अवकाशमा जान लागेका सहसचिव वेदप्रसाद खरेल र कृष्णबहादुर शाही सामान्यको जगेडामा रहेका छन्। सामान्यको जगेडामा रहेका सहसचिव शंकरहरि आचार्यको डेढ वर्ष र युगराज पाण्डेको ५ वर्ष जागिर बाँकी छ।

सामान्य प्रशासन मन्त्रालयको जगेडामा सरूवा भएका तुलसीनाथ गौतम र जयकुमार घिमिरे असोज १३ र १४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। बागमती प्रदेशको लोक सेवा आयोगको सचिवबाट सामान्यको अतिरिक्तमा तानिएका सहसचिव गौतम र मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सचिवबाट सामान्यको अतिरिक्तमा पुगेका घिमिरेको ३ साता पनि जागिर बाँकी छैन।

थारू आयोगबाट सामान्यको जगेडामा तानिएका सहसचिव रूद्रप्रसाद लामिछाने डेढ महिनापछि घर जाने सूचीमा छन्। सहसचिव लामिछाने कार्तिक १८ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। उनलाई डेढ महिनाका लागि जिम्मेवारी दिन उपयुक्त हुँदैन।

सामान्यको अतिरिक्तमा रहेका सहसचिव सुशील ढकालको साढे दुई महिना जति जागिर बाँकी छ। ढकाल ५८ वर्ष पूरा भएर मंसिर ११ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। स्वास्थ्यमा समस्या रहेका कारण उनलाई कुनै जिम्मेवारी दिने अवस्था देखिँदैन।

सामान्य जगेडामा पुगेका सहसचिव वेदप्रसाद खरेल र कृष्णबहादुर शाहीको बैशाखसम्म जागिर छ। खरेल वैशाख ७ गते र शाही वैशाख २० गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनीहरूको जागिर ६ महिना बढी भएकाले दरबन्दीमा व्यवस्थापन गर्दा उपयुक्त हुन्छ।

समान्यको जगेडामा रहेका सहसचिव शंकरहरि आचार्यको एक वर्ष र युगराज पाण्डेको ५ वर्ष बढी जागिर बाँकी रहेको छ। आचार्यको २०८४ कार्तिकसम्म र पाण्डेको २०८८ चैतसम्म जागिर रहेको छ। आचार्य र पाण्डेलाई पनि दरबन्दीमै खटाउनु पर्ने अवस्था देखिन्छ।

सामान्यको जगेडामा पुगेका सहसचिव विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटी राजीनामा दिएर हिँडिसकेका छन्।

नेपाल प्रशासन सेवाका सहसचिव ओमबहादुर खड्का २ साता, सन्तोषकुमार दाहाल ३ साता र हरिशरण पुडासैनी ५ सातापछि अनिवार्य अवकाशमा जाने सूचीमा छन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर शाही, #जयकुमार घिमिरे वेदप्रसाद खरेल, #तुलसीनाथ गौतम, #युगराज पाण्डे, #रूद्रप्रसाद लामिछाने, #शंकरहरि आचार्य, #सुशील ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ