मेडिकल सिण्डिकेटधारी कैलाश खड्का सर्वोच्च अदालतबाट छुटेनन्
काठमाडौं। वैदेशिक रोजगारीमा जाने कामदारमाथि मेडिकल सिण्डिकेट लाद्ने कैलाश खड्कालाई सर्वाेच्च अदालतले तत्काल छाड्ने आदेश नदिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नियन्त्रणमा लिएका खड्कासहितका मेडिकल सिण्डिकेटधारी अहिले प्रहरी हिरासतमा रहेका छन्। विभिन्न मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी स्रोत बताउँछ।
प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेका खड्काकी श्रीमती प्रविना प्रजापति खड्का बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएकी थिइन्। उक्त रिटमा सर्वोच्च अदालतको न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले तत्काल छुट्ने गरी आदेश दिएको पाइँदैन। न्यायाधीश सुवेदीको इजलासले नेपाल र मलेसियाबीच भएको सम्झौताको प्रमाणित प्रतिलिपि मागेको छ। खड्कालाई जसरी पनि छुटाउन लागेकाहरू जिल्ल परेको चर्चा चल्न थालेको हो। खड्कासँगै प्रक्राउ परेका प्रविन तिवारी, रविन्द्र केसी, रामपुकार तिवारीको हकमा पनि उस्तै प्रकृतिको आदेश भएको छ।

सरकारले वैदेशिक रोजगारीमा भइरहेको ठगीको विषयमा ‘बिग अपरेशन’ सुरू गरेको छ। यो अपरेशन अझै सशक्त रूपमा अघि बढ्ने सरकारी अधिकारी बताउँछन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस