विवादित बनिरहेका पर्यटनका नियुक्ति
समाचार टिप्पणी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका नियुक्तिहरू एकपछि अर्को गर्दै विवादित बनिरहेका छन्। पछिल्लो समय लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा मुक्तान लामाको नियुक्ति पनि विवादरहित बन्न सकेन। तिब्बतीमुलकी डोल्मा सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेकी व्यक्ति हुन्। बौद्ध भिक्षुणी डोल्माको नियुक्तिलाई लिएर अहिले विवाद उत्पन्न भएको हो। उनलाई वहिष्कार गर्नेदेखि विभिन्न विरोधका कार्यक्रम सुरू भइसकेका छन्। यसले डोल्माको नियुक्ति विवादमा परेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस)ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएका महेश्वरभक्त श्रेष्ठ पनि अदालतबाट पदमुक्त भएका छन्। निगमको सदस्य नियुक्ति नै अदालतले उल्ट्याइदिएको थियो। नियुक्ति विवादमा पर्दा नेपाल वायु सेवा निगम धराशायी हुने अवस्थामा पुगेको छ। निगमको नियुक्तिले सरकारलाई नै विवादमा तानेको हो।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठको नियुक्ति पनि विवादमा परेको छ। ६७ वर्षीय श्रेष्ठको नियुक्तिलाई लिएर उच्च अदालत पाटनमा रिट परेको हो। उनको शैक्षिक योग्यतामाथि पनि पश्न उठेको छ। दसैँ लगत्तै पेशी रहेको कोषका सदस्यसचिव श्रेष्ठको मुद्दामा वायु सेवा निगमका श्रेष्ठको नजिर आकर्षित हुने खतरा देखिन्छ। उक्त मुद्दालाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका अन्जान श्रेष्ठ सक्रिय भएको चर्चा हुन थालेको हो। सदस्यसचिव मात्र होइन कोषका अन्य सदस्यको गतिविधिले पनि विवाद निम्त्याउने अवस्था सिर्जना भएको छ। विवादित नियुक्तिका कारण कोषको बजेट समेत पास हुन सकेको छैन। निगमपछि कोषमा पर्यटनमन्त्री नियुक्ति विवादमा पर्ने देखिन्छ।
नेपाल प्रज्ञा प्रतिष्ठानदेखि विभिन्न निकायमा भएका पर्यटनका नियुक्ति समेत विवादरहित बन्न सकेका छैनन्। घरजग्गा विवादमा तानिएका पर्यटनमन्त्री पौडेलका नियुक्ति पनि उस्तै विवादित बन्न थालेका छन्। पर्यटनका नियुक्तिले सरकारलाई समेत विवादमा तान्न थालेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस