भद्रगोल अवस्थामा पशुपति क्षेत्र विकास कोष


समाचार टिप्पणी

काठमाडौं। पशुपति क्षेत्र विकास कोष अहिले भद्रगोल अवस्थामा पुगेकाे छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थप्रसाद श्रेष्ठ लामो समयदेखि बिदामा छन्। दसैँ बिदापछि कार्यालय खुल्दा बीचमा एकदिन मात्र उनी बिदा थप गर्न कोषमा उपस्थिति भए। कोषका सदस्यहरूका अनुसार उनी कार्तिक महिनाभरी नआउने गरी बिदामा बसेका हुन्।

नयाँ सरकार आएपछि कोषले गति लिने ठानिएको थियो। विश्वका हिन्दु, सनतानीहरूको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई हेर्न बनाइएको कोषमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले पोखरेली श्रेष्ठलाई कोषको सदस्यसचिव नियुक्त गरे। तर, पशुपतिलाई तीर्थले तीर्थ बनाउन सकेनन्। उल्टै उनले कोषलाई भद्रगोल अवस्थामा पुऱ्याएका हुन्।

कोषको बजेट समेत पास हुन सकेको छैन। कोषका कर्मचारीले आन्दोलन गर्न थालेका छन्। यस्तो समस्याको पहिचान गरेर एक्सन लिनुपर्नेमा सदस्यसचिव श्रेष्ठ जिम्मेवारीबाट भागिरहेका छन्। यसले कोषलाई ‘डिरेल’को अवस्थामा पुऱ्याएको छ। कानुनविपरीत सदस्यसचिवमा नियुक्त भएका श्रेष्ठले कोषलाई चलाउन नसकेकाे आरोप लागेको हो।

६५ वर्ष उमेर पूरा भएका (६७ वर्षीय) श्रेष्ठलाई सदस्यसचिव बनाएको विषयमा लिएर उच्च अदालतमा रिट परेको छ। उस्तै प्रकरणमा महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्दा उमेर हदको कारण उनी पदमुक्त भएका थिए। उक्त नजिर तीर्थको हकमा पनि लागू हुनुपर्ने हो। उच्च अदालतले उक्त विषयमा फैसला गर्नै बाँकी छ।

कोषमा अहिले तीर्थभन्दा भए यसअघिका सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल नै बरू ठिक रहेछन् भन्न थालेका छन्। यस्तो अवस्था आउनु त्यति राम्रो छनक हैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ