सान फ्रान्सिस्कोका महावाणिज्यदूत खनाल फिर्ता आए, जापानका कार्यवाहक राजदूत पौडेल बोलाइए फिर्ता
काठमाडौं। अमेरिकाको सान फ्रान्सिस्कोका महावाणिज्यदूत लक्ष्मण खनाल फिर्ता आएका छन्। नेपाल सरकारको निर्णय बमोजिम अमेरिका सान फ्रान्सिस्को (क्यालिफोर्निया)स्थित महावाणिज्यदूतावास बन्द गर्ने निर्णय भएपछि महावाणिज्यदूत खनाल फिर्ता आएका छन्। सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासको वेबसाइटबाट महावाणिज्यदूत खनालको फोटो समेत हटाइसकिएको छ। अमेरिकाको वासिङ्गटन डिसीमा रहेको नेपाली राजदूतावासबाट नै हेर्ने गरी उक्त महावाणिज्यदूतावास बन्द गरिएको हो। सान फ्रान्सिस्कोको महावाणिज्यदूतावासले वितरण गर्न ठिक्क पारेको थान राहदानी समेत नेपाली राजदूत, वासिङ्गटन डिसीमा पठाइएको महावाणिज्यदूतमा वेबसाइटमा उल्लेख छ।
राहदानी वितरण कै लागि सहसचिवस्तरको महावाणिज्यदूतको नेतृत्वमा सान फ्रान्सिस्कोमा छुट्टै नियोग खोल्नुको औचित्य पुष्टि हुन सकेकाे थिएन। तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको जोडबलमा खोलिएको सान फ्रान्सिस्कोस्थित उक्त अनावश्यक र औचित्यहीन महावाणिज्यदूतावास बालेन सरकारले बन्द गराएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बन्द भएको सान फ्रान्सिस्कोका नियोग प्रमुख खनाल परराष्ट्र मन्त्रालय फिर्ता भएका हुन्।
त्यस्तै जापानका कार्यवहाक राजदूत हरिहर कान्त पौडेललाई पनि परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ। प्रवक्ता क्षेत्रीका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीको सरूवा निर्देशिका बमोजिम परराष्ट्र सचिवले जापानका कार्यवहाक राजदूत पौडेललाई परराष्ट्र मन्त्रालय सरूवा गरिएको हो।
जापानका कार्यवहाक राजदूत हरिहर कान्त पौडेलबिरुद्ध गम्भीर प्रकृतिको उजुरी परेपछि फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ। आर्थिक चलखेल र सेवाप्रवाहमा लापरबाही गरेको, सेवाग्राहीलाई सास्ती दिएको विषयमा उनीमाथि उजुरी परेको स्रोतको भनाइ छ। बाढीपीडितको नाममा उठेको पैसा समेत कोषमा नगरिएको आरोप समेत कार्यवहाक राजदूत पौडेलमाथि लागेको हो। उनीमाथि छानबिन हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
जापानका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। कार्यवहाक राजदूत पौडेल पनि फिर्ता बोलाइएका हुन्। सरकारले रिक्त नियोगमा चाँडै नै राजदूत सिफारिस गर्ने तयारी थालिरहेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस