तत्कालीन् का.बा. उपकुलपति खनालले करोडौं अनियमितता गरेको खुलासा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनालले कार्यबाहक उपकुलपतिको रूपमा काम गर्दा प्रतिष्ठानलाई करोडौं आर्थिक क्षति हुने कार्य गरेको कुरा सार्वजनिक भएको छ ।

तत्कालीन् उपकुलपति डा. राजकुमार रौनियारविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि २०७६ साउन १ देखि चैत्र २६ गतेसम्मको ९ महिना डा. खनाल कार्यबाहक उपकुलपति भएको समयको आन्तरिक लेखा परिक्षणको प्रतिवेदनले डा. खनालका अनेकौं अनियमितताहरु उजागर गरेको छ ।

डा. खनाल तत्कालीन् स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको जोडबलमा नियुक्ति पाएका र वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हटाएर माओवादी कोटामा उपकुलपति बन्ने अभियानअन्तर्गत गत हप्ता मात्र माओवादी अध्यक्ष प्रचण्डसँग भेटेर धरान फर्किएका छन् ।

कवाडी परिवार डा. खनालको खरिदमा साँठगाँठ 

वीपी प्रतिष्ठान भित्रका औषधी उपकरण ठेक्काहरुमा प्राय: धरानको अग्रवाल परिवार (स्व. बिर्जु कवाडीको परिवार) को रजाईं हुने गरेको छ ।

प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्तिमा राजनैतिक नेतृत्वलाई आर्थिक लगानी गर्नेदेखि प्रतिष्ठानका खरिद शाखा प्रमुख सागर ताम्राकार, लेखा प्रमुख कमल रायमाझीलगायतलाई मासिक तलब दिएर राख्ने यो परिवारसँग सेटिङ गरेर का.बा. उपकुलपति डा. खनालले सर्जिकल पन्जा खरिदका लागि २०१९००००२१ नम्बरको बोलपत्र आव्हान गरेका थिए । यसमा गर्ग इम्पेक्स र मेडी पोइन्ट इन्टरनेसनल प्रा.लिसमेतले बोलपत्र हालेको थियो । गर्ग इम्पेक्सले पेश गरेको २ करोड ८२ लाख २६ हजार २ सय ७० रुपैंयाँको बोलपत्र स्वीकृत भएको पाइएको छ । बोलपत्र हाल्ने दुइवटा कम्पनि एकै घर संगोलका दाजुभाइबाट सञ्चालित रहेको खुल्न आएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार गर्ग इम्पेक्सका संचालक पवन कुमार अग्रवाल र मेडी पोइन्ट इन्टरनेसनल प्रा.लि. का संचालक दीनदयाल अग्रवाल एकै परिवारका मात्र नभएर गर्ग डेन्टल प्रा.लिका संचालक समेत रहेको देखिन्छ।

भ्याट माथि भ्याट थपेर खनालले गरे ३३ लाख भ्रष्टाचार 

ठेक्का न २०१८०००० ४९ ( को दाँतसम्बन्धी उपकरणको रू. ३१३७००५२ मा दियिएको बोलपत्रमा कोटेसन माग गर्दै १३% भ्याट समावेस गरिएको रकममा कोटेसन लिएर भ्याट नजोडिएको भनि  रू ३१६०९७३५.६० लागत निकालिएको पाइएको छ । अन्तिम लागत निकाल्दा थप १३% भ्याट ( रू ४१०९२६५) जोडेर रू ३५७१९००१.२३ कायम गरिएको छ । यसरी लागत निकाल्दै २ पटक भ्याट जोडेर रू ३२,९६,८३४ अनियमित तवरले बढी देखाइयो तथ्य फेला परेको छ ।

यसरी वास्तविक लागत रू २,७९,७३,२१७ हुने ठेक्काको कृत्रिम लागत रू ३,५७,१९,००१.२३ देखाई रू ३,१२,७०,०५२ मा ठेक्का दिइएको देखिन्छ । यो सार्वजनिक खरिद ऐन नियमको ठाडो उल्लङ्घन हो । यो ठेक्का पनि वीपी प्रतिष्ठानकै अनियमिततामा संलग्न भई अख्तियारले मुद्दा दायर गरेका चेतन अग्रवाललाई दिइएको पाइएको छ ।

नमूना नहेरी स्वास्थ्य सामग्री खरिद 

तत्कालीन् का.वा. उपकुलपति डा. खनाल, तत्कालीन् डेपुटी अस्पताल निर्देशक तथा मूल्यांकन समितिका डा. दिलिप ठाकुर र खरिद शाखा प्रमुख सागर ताम्राकारको मिलेमतोमा प्रतिष्ठानमा प्रयोग हुने प्रयोगशाला किट खरिद गर्दा नमूना नै परिक्षण नगराई खरिद गर्ने गराउने गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ ।

प्रयोगशाला किट खरिदको निमित्त आव्हान गरिएको २०१९००००१६ नम्बरको बोलपत्र राज ट्रेड कन्सर्न, गर्ग इम्पेक्स र गौतम इन्टरनेसनललाइ परेको देखिन्छ । १ करोड २१ लाख ७१ हजार ८ सय ५७ रुपैंयाँ लागत अनुमानको बोलपत्र स्वीकृत भएपछी कम्पनीले नमूना नै नदेखाई खरिद गरेको पाइएको छ । नमूनाको जाँचबीनै प्रयोगशाला किट लगाएका सामग्री का.वा. उपकुलपति डा. खनालले स्वीकृत गरे गरेको तथ्य फेला परेको हो ।

व्यापारीलाई नै बनाउन दिए स्पेसिफिकेसन 

स्वास्थ्य सामग्री खरिद गर्न गरिएको २०१९००००२१ नम्बरको बोलपत्र गर्ग इम्पेक्सलाई परेको आन्तरिक लेखापरीक्षण रिपोर्टबाट प्रस्ट हुन्छ । २ करोड ८२ लाख २६ हजार २७० को ठेक्कामा का.वा. उपकुलपति खनालले एकपटक बोलपत्रको सूचना निस्किसकेपछी व्यापारीसँग कमिसन बार्गेनिङ गरेर व्यापारीले भने अनुरुप नै स्पेसिफिकेसन शंसोधनगरी यसमा लाखौँ अनियमितता भएको अनुमान गरिएको छ ।

का.वा. उपकुलपति र खरिद प्रमुखद्वारा खरिद कागजात नै गायब 

आन्तरिक लेखा परीक्षण रिपोर्ट अनुसार स्वास्थ्य सामग्री (ब्यान्डेज, कटन,लगायत) को खरिदका लागि आव्हान गरिएको १०१९००००० नम्बरको बोलपत्रमा राज ट्रेड कन्सर्नका बोलपत्र स्वीकृत भएको थियो । तर अहिले १ करोड ३० लाख ३७ हजार ३ सय ७५ रुपैयाँको यो बोलपत्रमा सबै कागजात गायब छन् । त्यसैगरी का.वा. उपकुलपति डा. खनालले अनियमित तवरले भुक्तानी दिएको सरसफाई ठेक्कासम्बन्धी कागजातहरु समेत गायब रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com