नेसनल मेडिकल कलेजसहित १४ शिक्षण अस्पताल अबैध


काठमाडौं । नेसनल मेडिकल कलेज, वीरगञ्जसहित १४ वटा मेडिकल कलेजका अस्पतालहरू अबैध रूपमा सञ्चालनमा आइरहेको पाइएको छ ।
नेसनल, मणिपाललगायत १४ वटा मेडिकल कलेजले अस्पताल सञ्चालनको अनुमति नै नलिई स्वास्थ्य संस्था (अस्पताल) सञ्चालन गरिरहेको पाइएको हो ।
स्वास्थ्य संस्था सञ्चालन, स्थापना तथा स्तरोन्नती मापदण्डसम्बन्धी निर्देशिका, २०७० मा अनुमति नलिई अस्पताल सञ्चालन गर्न नहुने उल्लेख छ । त्यसैले नेसनलसहितका १४ वटा मेडिकल कलेजले सञ्चालन गरेका अस्पतालहरू अबैध देखिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २ सय शय्याभन्दामाथिको स्वास्थ्य संस्था सञ्चालनका लागि मणिपाल, नेसनलसहितका १४ वटा मेडिकल कलेज, अस्पतालले ७ हजार ४ सय ६१ शय्याको स्वास्थ्य संस्था सञ्चालन गर्न निवेदन दिएका थिए । तर ती मेडिकल अस्पतालले मापदण्डबमोजिम कागजात पेश गर्न नसकेपछि ११ वर्षसम्म निवेदन स्वास्थ्य मन्त्रालयमा नै अलपत्र अवस्थामा रहेको देखिन्छ ।
ती कलेजहरूले सञ्चालन गरेका अस्पतालले राष्ट्रिय भवन संहिता, २०६० बमोजिम भवन निर्माण भएको कागजात पेश नगरेकाले अनुमति दिन नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । यही कारण निवेदन उपर कारबाही अघि बढाउन नसकिएको मन्त्रालयको भनाई छ ।
सञ्चालन अनुमति नभए तापनि स्वास्थ्य संस्था सञ्चालन भइरहेको भन्दै महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको छ । ११ वर्षसम्म निर्णयबिहीन रहनु उचित नहुने भन्दै मापदण्डअनुसार सञ्चालन नभएका स्वास्थ्य संस्थालाई कारबाही हुनुपर्ने महालेखाको ठहर छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com