स्वास्थ्य मन्त्रालयका कर्मचारी मन्त्रालय सरसफाइमा झाडू बोकेर मैदानमा उत्रिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी मन्त्रालय सरसफाइमा .झाडू बोकेर आफैं मैदानमा उत्रिएका छन् ।

शैलजा रेग्मी भट्टराई, गुणराज लोहनीलगायतका मन्त्रालयका उच्च अधिकारी नै मन्त्रालय सरसफाइमा मैदानमा उत्रिएका हुन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आएसँगै मन्त्रालय सरसफाइलाई प्राथमिकतामा राखेका छन् ।

मन्त्रालयको झाडीदेखि थोत्रा गाडीसम्म हटाएर स्वास्थ्य मन्त्रालयलाई स्वस्थ र चिटिक्क पार्न उनी लागिपरेका हुन् । राज्यमन्त्री श्रेष्ठले मन्त्रालयको भवनमा वर्षौदेखि उम्रिएको झार र झाडी उखेल्ने कामबाट मन्त्रालय सरसफाइ सुरू गरेका हुन् । उनले आफैं मैदानमा उत्रिएर स्वास्थ्यमा सरसफाइ अनिवार्य छ भन्ने म्यासेज दिन थालेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सचिवस्तरीय निर्णय गर्दै महिनाको दुईपल्ट सबै कर्मचारीले आ- आफ्नो कार्यालय सफाइ गर्नु पर्ने नियम लागू गरेका छन् । मन्त्रालय सरसफाइमा मन्त्री र सचिव नै मैदानमा उत्रिएर काम गर्ने छन् ।

महिनाको पहिलो र तेस्रो हप्ताको शुक्रबार मन्त्रालय र मातहतका कार्यालय सम्बन्धित अधिकारीहरूले गर्नुपर्ने छ । यसैअनुसार आज स्वास्थ्य मन्त्रालयका कर्मचारी मन्त्रालय सरसफाइ गर्न फिल्डमा आएका हुन् ।

राजाको प्रत्यक्ष शासनकालमा आफैं फिल्डमा आएर सरसफाइ गर्ने स्वास्थ्य सहायकमन्त्री निक्ष शम्शेर राणापछि राज्यमन्त्री श्रेष्ठले मन्त्रालय सरसफाइमा ध्यान दिएका छन् ।

मन्त्रालय सफा र स्वस्थ हुनुपर्छ भन्ने सोच भएका मन्त्री पाउन स्वास्थ्यलाई १७ वर्ष लाग्यो । जे होस् अब कर्मचारी नै मन्त्रालय सफाइमा नियमित लाग्ने छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com