कमिसनको चक्करमा लागेका टेकुका कर्मचारीले नै बनाउन दिएनन् खोप भण्डारण स्टोर


काठमाडौं ।  दुई वर्षभित्र सम्पन्न गर्ने हिसावले सरकारले अत्याधुनिक खोप भण्डारण स्टोर बनाउँने सम्झौता गरेको थियो । तर, स्वास्थ्य सेवा विभागका केही कर्मचारीको कमिसन चक्करले गर्दा सम्झौता भएको १८ महिनामा पनि काम अगाडि बढ्न सकेको छैन । यसले गर्दा खोप भण्डारणमा समस्या देखिएको हो ।

मुख्य गरी स्वास्थ्य सेवा विभागमा प्रशासन र लेखाको आन्तरिक द्वन्द्वले भवन निमार्णको कार्य मात्रै रोकिएको छैन, खोप भण्डारण स्टोर सीमित भएका कारण हाल कोरोना विरुद्धको खोप आवश्यक मात्रामा सरकारले ल्याउन सकेको छैन । भण्डारण गरिएका खोपको पनि गुणस्तरमा प्रश्न उठ्न थालेको छ ।

खोप भण्डारण क्षमता कम भएपछि सरकारले टेकु परिसरभित्रै अत्याधुनिक भण्डारण स्टोर बनाउन ०७६ फागुन ३० गते १२ कम्पनीमध्ये सबै भन्दा कम मूल्य हाल्ने कौशिल बस्नेत–कुँवर जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । तर, स्वास्थ्य सेवा विभागका लेखा अधिकृत ठाकुर दाहाललगायतका कर्मचारीले अवरोध गरिरहेको बताइएको छ ।

खोप भण्डारण जस्तो अत्यावश्यक भवन निर्माण गर्न लेखा अधिकृत दाहालले कमिसनको आस गर्दा भवन बन्ने पक्रिया अगाडि बढ्न नसकेको स्वास्थ्य सेवा विभागका अधिकारीहरु बताउँछन् । तर, ठेकेदार भने मौखिक रुपमा कुनै कर्मचारीले कमिसन नमागेपनि दु:ख भने १८ महिनादेखि दिइरहेको बताउँछन् । आफ्नो अबको बाटो अदालती प्रक्रिया मात्रै भएको बस्नेतको भनाई छ ।

अत्याधुनिक खोप भण्डार ठेकेदार सम्झौता गरेपनि काम अगाडि बढाउन स्वीकृत नदिँदा अहिले खोप राख्ने ठाउँको चरम अभाव भएको छ ।  खोप भण्डारण स्टोरको क्षमता कम हुँदा लाखौं डोज खोपको गुणस्तरमा कमी आएको स्वास्थ्यका अधिकारीहरुको अनुमान छ । तर, खोपको गुणस्तर जाँच भएको छैन । कमिसनको चक्करले खोप भण्डारण निर्माण गर्न नदिँदा सरकारले खरिद गर्न लागेको फाइजर र मोडर्नाको खोप राख्ने उपयुक्त ठाउँ पाएको छैन ।

कौशिल बस्नेत-कुँवर जेभी निर्माण कम्पनीले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, कर्मचारी कमिसनको पछाडि लाग्दा १८ महिनामा जग समेत खनिएको छैन । भवन बनाउने ठाउँ गाडी पार्किङ भएको छ । विभागका कर्मचारीहरु भन्छन्, ‘लेखा अधिकृत दाहाल सम्झौता स्वीकृत नगरी म्याद गुजारेर रद्ध गराउने पक्षमा देखिएका छन् ।’, तर, दाहाल भने आफ्नो यसमा कुनै हात नभएको बताउँछन् । ‘ठाकुरले भने, ‘केही कानुनी समस्याले गर्दा ढिला भएको होला । किन ढिला भयो भन्ने कुरा मलाई भन्दा अरुलाई जानकारी होला ।’

सरकारले आगमी पुस माघ भित्र १ करोड बढी माईनस ८० डिग्री सेल्सियसमा राख्नु पर्ने मोडर्ना र फाइजरको खोप ल्याउँदैछ । उक्त खोप भण्डारण गर्ने कोल्डचेन अहिलेसम्म छैन । तीनवटा हालै जोडिएका छन् तिनमा १ लाख डोज भन्दा नअट्ने खोप शाखाले बताएको छ । हाल केन्द्रमा २० लाख डोज भन्दा भण्डारण क्षमता छैन ।

ठेकेदार कौशिल बस्नेत प्रशासन र लेखाको आन्तरिक द्वन्द्वले काम अगाडि बढ्न नसकेको बताउँछन् । ‘भेरिएसन स्वीकृत भएको पत्र र साइड सुचारु गर्न एउटा पत्र दिनुपर्ने हो बस्नेतले भने, विभागबाट भेरिएसन स्वीकृत भएको जानकारी पनि दिएको छैन, काम सुरु गर्नु भनेर पत्र पनि दिएको छैन ।’

 

ठेकदार कम्पनीले विभागले नगर्ने भए बजेट सहरी विकास मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेका थिए । तर, आफूपनि फायल अगाडी नबढाउने र सहरी विकास मन्त्रालयमा पनि नपठाउने रणनीतिमा लेखा अधिकृत ठाकुर छन् । महामारीको लागि आएको खोप भण्डारण गर्न बनाउन लागेको भवनको फायल समेत सदर नगर्ने कर्मचारीप्रति मन्त्रालय र विभागका उच्च अधिकारीले नै संरक्षण गरेको अधिकारीहरु बताउँछन् ।

घुस दिन्न बरु दुई बोरा सिमेन्ट बढी हालेर भवन बनाउँछु
कौशिल बस्नेत
ठेकदार

महामारीको बेला आवश्यक ठानेर बनाउन लागेको खोप भण्डारण स्टोरको काम रोक्नु दुःखद पक्ष हो । यस्तो बेला पनि घुसका लागि फायल नै स्वीकृत नगर्नु आश्चर्यको विषय छ । म सँग प्रत्यक्ष रुपमा पैसा मागिएको छैन तर, अवरोधको अवस्था हेर्दा शंकास्पद छ । तर, म एक रुपैयाँ पनि घुस दिने पक्षमा छैन ।

मैले कुनै कर्मचारीलाई घुस दिनुपर्छ भने त्यसको पैसाले दुई बोरा सिमेन्ट बढी किनेर भवनमै लगाउँछु । भवन बनाउने ठाउँमा देखिएको केही समस्यासमेत अहिले समाधान भएको छ । अब बाँकी काम भनेको भेरिएसन स्वीकृत भएको पत्र र साइड सुचारु गर्न एउटा पत्र दिनुपर्ने हो । तर, विभागबाट भेरिएसन स्वीकृत भएको जानकारी पनि दिएको छैन र काम सुरु गर्न पत्र पनि दिएको छैन ।
कर्मचारीले ढिला गर्दा यस बिचमा झण्डै ४० लाख रुपैयाँ लागत बढेको छ । तर पनि म सम्झौता भएकै रकममा भवन बनाउन तयार छु । यसका लागि कर्मचारी तयार छैनन् जसले गर्दा फायल अड्काएर राखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ