एनएचएसएसपीको राष्ट्रघाती कामः मातृ मृत्यु ‘बढाउन’ चोरेर एसबीए तालिमको रणनीति तयार

इसाई धर्म प्रचारक डा. माैरिनकाे डिजाइनमा बन्यो रणनीति


काठमाडौं । नेपाल हेल्थ सपोर्ट कार्यक्रम (एनएचएसएसपी) बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडी/युकेऐडको लागानीमा चलेको एउटा आइएनजिओ हो । यसले नेपालको स्वास्थ्य क्षेत्रमा अर्को नीतिगत बदमासी गरेको खुल्न आएको छ ।

स्वास्थ्य क्षेत्रमा भौतिक संरचनादेखि कानुनसमेत कब्जा गर्न सफल आइएनजिओ माफिया सुरेश तिवारी, कृष्णप्रसाद शर्मा र सुशील बरालको एनएचएसएसपीले केही दिन अघि मात्रै जिम्मेवार सरकारी अधिकारीलाई जानकारी नै नदिई चोरेर एउटा महत्त्वपूर्ण रणनीति तयार पारेको  तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ।

सेवा प्रवाह गर्ने सरोकारवालालाई जानकारी नै नदिई चोरेर एनजिओ/आइएनजिओलाई सरकारी रणनीति पठाएको फेला परेको हो । स्वास्थ्य क्षेत्रमा आइएनजिओ माफिया भएर मन्त्री र सचिवलाईसमेत प्रभावमा पारेको एनएचएसएसपीले आफूखुशी सेवाकालीन तालिम, सीपयुक्त प्रसूतिकर्मी एसबीए), सीपयुक्त स्वास्थ्य जनशक्ति २०२०–२०२५ रणनीति तयार पारेको छ ।

एनएचएसएसपीले त्यो रणनीति आफ्नो वेबसाइट र एनएचएसएसपीमा कार्यरत विनम्र राजभण्डारीको इमेलमार्फत विभिन्न एनजिओ/आइएनजिओलाई पठाएको स्वास्थ्य लाइभले फेला पारेको हो । स्वास्थ्य सेवा विभाग र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बौद्धिक चोरशैलीमा आइएनजीओले राष्ट्रहितविपरीत बनाएको रणनीति कार्यान्वयन गर्न बाध्य भएको छ ।

यो रणनीति कार्यान्वयन गर्ने सरोकारवाला सम्बन्धित निकायको सहभागिता र जानकारी बिना नै एनएचएसएसपीले सो रणनीति तयार पारेको खुल्न आएपछि सरकारी सरोकारवाला (स्टेकहोल्डर)ले विरोध गरेका छन् । चोरेर रणनीति तयार पार्ने एनएचएसएसपीमाथि कडा कारबाही गर्न उनीहरुको माग छ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नियमित रूपमा नर्सहरुलाई सेवाकालीन तालिम दिँदै आएको छ । सेवाकालीन तालिम रणनीतिको स्टेकहोल्डर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हो । तर, उसैलाई रणनीति तयार भएको बारे कुनै जानकारी छैन । यस्तो तालिम प्रदान गर्दै आएका अस्पतालका जिम्मेवार व्यक्तिहरूलाई कुनै जानकारी नदिई एनएचएसएसपीले चोर बाटोबाट फाइनल कपी देश तथा विदेशमा रहेका आइएनजिओ तथा आइएनजिओकर्मीलाई पठाइसकेको पाइएको छ ।

स्वास्थ्यकर्मीलाई तालिम दिने, त्यसका लागि नियम कानुन बनाउने काम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको हो । तर, केन्द्रका कर्मचारीको काम तलब खानेबाहेक केही छैन । जुन पछिल्लो सेवा कालीन तालिम, सीपयुक्त प्रसूतिकर्मी (एसबीए), सीपयुक्त स्वास्थ्य जनशक्ति २०२०–२०२५ रणनीतिले पनि स्पष्ट पारेको छ ।

तालिम केन्द्रका एकजना अधिकारीले भने, ’यहाँका कर्मचारी हाजिर गर्ने मात्रै काम गर्छन, नीति निमार्णको सबै काम एनएचएसएसपीका कर्मचारीले गर्छन् । यसको पछिल्लो उदाहरण हालै तयार भएको सेवा कालीन तालिम, सीपयुक्त प्रसूतिकर्मी (एसबीए), सीपयुक्त स्वास्थ्य जनशक्ति २०२०–२०२५ रणनीति हो ।’

तालिम केन्द्रका एक जना अधिकारी रामराज पन्थीले उक्त रणनीति तयार पार्न एनएचएसएसपीको कुनै संलग्नता जिकिर गरेपनि स्वास्थ्य लाइभले उक्त डकुमेन्ट एनएचएसएसपीका कर्मचारीले पठाएको प्रमाण फेला पारेको छ । एनएचएसएसपीले आफैंले तयार पारेको रणनीति खुल्ने प्रशस्त प्रमाण स्वास्थ्य लाइभसँग सुरक्षित छ ।

देशको सबैभन्दा ठूलो र नियमित तालिम चलिरहने थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. संगिता कौशल मिश्रालाई यस विषयमा जानकारी लिँदा आफूलाई कुनै जानकारी नभएको बताईन् । यो कार्यक्रम चलाउने र कार्यान्वयनमा लैजाने हामीले हो । हाम्रो सहभागिताबिना यसरी बन्यो होला जस्तो लाग्दैन ।

एनएचएसएसपीले बनाएको बारेमा जिज्ञासा राख्दा सरकारी काममा एनएचएसएसपीको प्रवेश गम्भिर आपत्तीको विषय भएको बताइन् । आइएनजिओले चहिने भन्दाबढी सरकारी निकायमा हस्तक्षेप गर्नु उचित नहुने उनको तर्क छ ।

स्वास्थ्य लाइभले स्वास्थ्य मन्त्रालयको कानुन एनजिओ/आइएनजिओले कब्जा गरेको कुरा सार्वजनिक गरिरहँदा पछिल्लो घटना दोहोरिएको हो । एनएचएसएसपीका एकजना कर्मचारी विनम्र राजभण्डारीले उक्त सरकारी डकुमेन्ट इमेल गरेको पाइएको हो । पन्थीले अस्वीकार गरेको कुरा ती कर्मचारीले आफूले इमेल गरेको स्वीकार गरेका छन् । ’मलाई इमेल पठाउन भन्ने आदेश भए अनुसार मैले पठाएको हुँ’, स्वास्थ्य लाइभसँग कुरा गर्दै उनले भने ।

राजभण्डारीले पठाएको इमेलमा सरकारी निकायका जिम्मेवार सम्बन्धित व्यक्ति कोही पनि छैनन् । सरकारी कर्मचारीमा परिवार कल्याण महाशाखामा कार्यरत डा. पुण्य पौडेललाई पठाएको छ । उनलाई यस तालिमबारे ज्ञान छैन । उनले एनएसआई, युनिसेफ, युएनएफपिए, डब्लुएचओ, सेभ द चिल्ड्रेन, केयर नेपाल, वान हार्ड वल्डवाइड, आइपासलगायत आइएनजिओलाई डकुमेन्टसहित इमेल पठाएको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको हो ।

एनएचएसएसपीका कर्मचारी राजभण्डारीले प्रसूति गृहको एक जना वार्डमा काम गर्ने नर्सलाई इमेल गरेको देखिन्छ । तर, जिम्मेवार निकाय र व्यक्तिको प्रतिनिधित्व छैन । आइएनजिओले तालिमसम्बन्धी गाइडलाइन बनाएर सरकारलाई लाद्ने काम राष्ट्रघाती काम भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

एनएचएसएसपीको मनपरी रोक्न स्वास्थ्य मन्त्री, सचिव र महानिर्देशकलेसमेत सकेनन् । आफ्नो पक्षमा पारेका उनीहरुले ठाडो हस्तक्षेप गर्ने हैसियत राखेका छन् । नेपालभरका सरकारी अस्पतालबाट तालिम हुन्छ । सम्बन्धित अस्पतालका जिम्मेवार कर्मचारीको सल्लाहबिना नै एनएचएसएसपी जस्ता आइएनजिओ माफिया दाताको मनपरी धेरै चलेको छ ।

स्वास्थ्यका कर्मचारी तलब सरकारको खाने काम राष्ट्रघाती काम गर्ने एनएचएसएसपीलाई दिने गर्छन् । रणनीति बनाउने र त्यो रणनीति आफूखुशी विभिन्न एनजिओ/आइएनजिओमा बाँड्न दिएर स्वास्थ्य मन्त्रालय र मातहतका निकाय एनजिओ/आइएनजिओ माफियाले चलाएको छ भन्ने पुष्टी गरेको छ ।

यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा विगत २६ वर्षदेखि निरन्तर आवाज उठाउने जनस्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङ सेवाकालीन तालिम, सीपयुक्त प्रसूतिकर्मी (एसबिए), सीपयुक्त स्वास्थ्य जनशक्ति २०२०–२०२५ नीति एनएचएसएसपीले चोरेर बनाएकोप्रति आपत्ती जनाउछिन् । जसले सम्बन्धित अस्पतालका निर्देशक र मेट्रोनकोबिना जानकारी चोरेर नीति बनाएको अधिकारीहरुले बताएका छन् । डा. तामाङको आइएनजिओका कर्मचारीमाथि कारबाही अगाडि बढाउनु पर्ने तर्क छ । उनकाअनुसार यसमा सन् २००६ देखि राजनीतिक भएको छ । डिएफआईडीले लगानी गरेको आइएनजिओ हो एनएचएसएसपी ।

एसबीएका लागि विगतमा गाउँ-गाउँमा अनमी थिए । अहिले सो कार्यक्रम सरकारले फेजआउट गरेको छ । २००४ मा डब्लुएचओले एसबिए कार्यक्रममा अनमी राख्नु हुँदैन भनेको थियो । नेपालको सम्बन्धमा ५ वर्ष प्रयोग गर्ने भनेर परिभाषित गरियो । उक्त परिभाषा सन् २०११ मा समाप्त भयो तर, मातृ मृत्युदर घटाउन सकेनन् । मातृ मृत्युदर घटाउन नर्स, डाक्टरलाई एसबीए तालिम दिनुपर्छ र गाउँ-गाउँमा खटाउनुपर्छ भन्ने सरकारको नीति छ । तर, एनएचएसएसपीले चोरेर नीतिलाई अन्तिम रूप दिएको हो । जसमा अनमी अगाडी सारिएको छ ।

एनएचएसएसपी अन्तर्गतको मातृ शिशु कार्यक्रम प्रमुख डा. मौरिन डार इया थिइन् । उनी इसाइवादी हुन् । इसाई धर्म प्रचार गर्न एनएचएसएसपीले दूरदराजमा दक्ष जनशक्तिबाट प्रसूति नहोस् र अनमिबाट मात्रै प्रसूति गराउँदा नेपालमा मातृ मृत्युदर घट्दैन भन्ने आपराधिक मानसिकताले यस्तो हस्तक्षेप भएको अधिकारीहरु बताउँछन् । डा. मौरिन हाल नेपालमा छैनन् ।

देशका नीति र रणनीति सबै आइएनजिओले बनाइदिएका छन् । सम्बन्धित शाखाको शाखा प्रमुखसँग नेपाल हेल्थ सपोर्ट कार्यक्रम एनएचएसएसपी मिलेको हुन्छ । नाम सरकारको लेख्ने र काम आफूले गर्दै आएको छ ।

एनएचएसएसपीमा आवद्ध डा. विनम्र राजभण्डारी आइएनजिओको कर्मचारी हुन् तर, गलत रुपमा प्रचार गरेर आफू स्वास्थ्य सेवा विभागको कर्मचारी भएको देखाएर इमेल गर्दै आएका छन् ।

एउटा गोप्य डकुमेन्टको इमेलसमेत आफू गर्न नसक्ने कर्मचारीहरूलाई सरकारी सेवामा राख्नुको औचित्यमाथि सार्वजनिक बहस हुन आवश्यक रहेको स्वास्थ्यका अधिकारीहरू औल्याउँछन् । यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानविन गर्न आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com