डा.गोविन्द केसीका कारण स्वास्थ्य राज्यमन्त्रीको पद धरापमा


काठमाडौं । प्राडा गोविन्द केसीका कारण स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद धरापमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतकाअनुसार डा. गोविन्द केसीले श्रेष्ठलाई स्वास्थ्यमा निरन्तरता दिए अनसन बस्ने धम्की दिएपछि उनलाई युवा तथा खेलकुद मन्त्रालयमा क्याबिनेटस्तरको राज्यमन्त्री अथवा मन्त्री बनाएर लाने तयारी भएको छ । उनले भने काम गर्ने खालको मन्त्रालय स्वास्थ्य नै भएकाले त्यसैमा बस्न खोजेका छन् ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा खोप व्यवस्थापनलगायतमा राम्रै काम गरिरहेको भएतापनि डा. केसीका कारण मन्त्रालय चेन्ज गर्ने मुडमा प्रधानमन्त्री देउवा पुगेको स्रोतको भनाइ छ । बालुवाटार उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो, ‘स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राम्रै काम गरिरहनु भएको छ । तर, डा. केसीले अनसन बस्ने भनेकाले आगामी महाधिवेशनमा अफ्ठ्यारो पर्छ भनेर प्रधानमन्त्रीले उहाँलाई अर्कै मन्त्रालयमा पठाउने तयारी गर्नुभएको छ।’,

देउवाको भनाई प्रष्ट पार्दै कांग्रेसका एक नेताले अधिवेशन नभएको भए श्रेष्ठलाई हटाउने थिइँन् अधिवेशनका कारण समस्या पर्‍यो भन्ने गरेको सुनाए । श्रेष्ठले पनि समस्या परे आफूले सहयोग गर्न तयार रहेको जवाफ दिएको ती नेताको भनाइ छ । अब स्वास्थ्यमन्त्रीमा मिनेन्द्र रिजालको सम्भावना बढेको छ ।

प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाउन खोजेपनि उनी स्वास्थ्यमा जान अनिच्छुक देखिएका छन् । सिटौला समूहले स्वास्थ्य मन्त्रालयमा दाबी गरेपनि उक्त समूहबाट सिफारिस भएका उमाकान्त चौधरीलाई महिला, बालबालिका मन्त्रालय दिने प्रधानमन्त्री देउवाको तयारी छ । पौडेल पक्षका दिलेन्द्र बडूले स्वास्थ्य मन्त्रालयमा इच्छा देखाएपनि मिनेन्द्रलाई सञ्चार मन्त्रालय नपाएको खण्डमा स्वास्थ्य मन्त्रालय दिन महामन्त्री शशांक कोइरालाको प्रस्ताव छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com