स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ: दिने युवा लिने उद्योग


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै स्वास्थ्य राज्यमन्त्री  उमेश श्रेष्ठको भविष्य के हुन्छ भन्ने कुराको आम चासो रहेको छ ।

बालुवाटार उच्च स्रोतकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई कांग्रेसको भागमा परेको युवा तथा खेलकुद मन्त्रालयमा पठाउने तयारी थालेका छन् । तर, राज्यमन्त्री श्रेष्ठले आफू काम गर्न आएकाले काम गर्न सक्ने सम्भावना भएको मन्त्रालय मागेको बालुवाटार स्रोतले स्वास्थ्य लाइभलाई बतायो । रक्षा मन्त्रालयमा कांग्रेस कै भागमा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विनाविभागीय मन्त्री बनाएर राख्ने की भन्ने विषयमा पनि छलफल चलेको स्रोतको दाबी छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भए जाने इच्छा देखाएको उनी निकट व्यक्तिहरू बताउँछन् । उनले प्रधानमन्त्री देउवासँगको छलफलमा आफूलाई सहज हुने ठाउँ दिन आग्रह गरेका छन् । पार्टीभित्र व्यवस्थापन गर्न असहज देखिए आफू मन्त्री पद त्याग्न पनि तयार रहेको श्रेष्ठको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री देउवा निकट एक कांग्रेस नेताले स्वास्थ्य लाइभलाई बताए ।

‘स्वास्थ्यमा राम्रै काम गरिरहेको र केही चेन्ज गर्न खोजेकाले श्रेष्ठलाई सरकारमा निरन्तरता दिनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको बुझाई छ ।’, ती नेताले भने ।  ‘उहाँ (राज्यमन्त्री श्रेष्ठ)ले काम गर्न सक्ने सम्भावना भएको मन्त्रालय माग्नुभएको रहेछ, त्यो उद्योग हो भन्ने कुरा पनि छ । यो विषयमा प्रधानमन्त्रीज्यूले उचित निर्णय लिनुहुन्छ।’,  उद्योगमन्त्रीमा  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग जोडिएका गजेन्द्र हमालको पनि इच्छा रहेकाले श्रेष्ठलाई उद्योग मन्त्रालयमा पठाउने विषयमा बालुवाटार अलमलमा देखिन्छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयमै क्याबिनेटस्तरको राज्यमन्त्री वा मन्त्री बनाएर पठाउँने कि अन्तै व्यवस्थापन गर्ने भन्नेमा प्रधानमन्त्री देउवा निर्णयमा पुगिसकेका छैनन् । उद्योगमा हमाललाई मन्त्री बनाएर  श्रेष्ठलाई राज्यमन्त्रीमै पठाउने सम्भावना पनि जीवित रहेको प्रधानमन्त्री निकट नेताहरू बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com