स्वास्थ्यमन्त्री बिरोध : पहिलोपटक मन्त्री, बरियतामा धेरैलाई उछिट्याए


काठमाडौं । राजनीतिक जीवनमै पहिलोपटक मन्त्री बनेका स्वास्थ्यमन्त्री बिरोध खतिवडा बरियतामा छैटौं नम्बरमा पर्न सफल भएका छन् ।

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेका उमाकान्त चौधरीलाई तीन स्थान पछाडि पार्दै बिरोधले मन्त्रीको बरियतामा छैटौं स्थान हासिल गर्न सफल भएका हुन् । यति मात्र होइन पटकपटक मन्त्री भइसकेका अर्थमन्त्री जनार्दन शर्मा र रक्षामन्त्री मीनेन्द्रप्रसाद रिजाललाईसमेत स्वास्थ्यमन्त्री बिरोधले बरियतामा उछिनेका छन् । त्यस्तै धेरैपटक मन्त्री भएका नारायण खड्का , दिलेन्द्र बडू, महिन्द्र राय यादवलगायत पनि बिरोध भन्दा धेरै पछाडि देखिन्छन् ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका प्रेम आले पनि बिरोध भन्दा धेरै पछाडि छन् । आले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भइसकेका व्यक्ति हुन् ।

स्वास्थ्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्रीको बरियतामा २३ औं नम्बरमा छन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ २४ औं नम्बरमा रहेका छन् ।

प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डलका दोस्रो बरियतामा गृहमन्त्री बालकृष्ण खाँण र तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् । सञ्चारमन्त्री कार्की गृहमन्त्री खाँण भन्दा राजनीतिमा सिनियर हुन् । उनी नेविसंघको सभापति र मन्त्री पनि खाँण भन्दा अगाडि भएका हुन् । निकै शालिन र भद्र स्वभावका कार्की सरकारको प्रवक्तासहित तेस्रो बरियतामा रहेका छन् ।

त्यस्तै चौथो बरियतामा ऊर्जामन्त्री फम्फा भुसाल, पाँचौमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलगत्तै स्वास्थ्यमन्त्री बिरोध खतिवडा रहेका छन् । मन्त्रिमण्डलको बरियताको अन्तिममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवको नाम छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com