प्रधानमन्त्रीले मेसो नपाउँदा किर्ते प्राध्यापक गिरीको बीपीमा रजगज कायमै


सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छानबिन गर्न फेरि अर्को समिति बनाएका छन् । प्राध्यापकको किर्ते उपाधि देखाएर सार्वजनिक पदको दुरूपयोग गरेका प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्ने मेसो नपाएर प्रधानमन्त्री देउवाले फेरि अर्को समिति बनाएको चर्चा सुरू भएको छ ।

प्रधानमन्त्री देउवाले बीपी  प्रतिष्ठानको हित हेर्ने हो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति गिरीलाई प्राध्यापकको उपाधि पेश गर्न दिएको निर्देशन पालना नगरेर किर्ते ठहर भएका गिरीलाई त्यसैका आधारमा सिनेट बोलाएर सीधै बर्खास्त गर्न सक्छन् । थप छानबिनका लागि मन्त्रिपरिषदबाट निर्णय गराएर जाँचबुझ आयोग गठन गर्ने अधिकार प्रधानमन्त्रीसँग छ । बीपी प्रतिष्ठानको विषयमा यस अघि नै तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वमा गठित कार्यदले पनि उपकुलपति गिरीसहितका पदाधिकारीलाई हटाउने आधार दिइसकेको छ । उक्त कार्यदललाई पनि गिरीले प्राध्यापकको उपाधि प्राप्त गरेको प्रमाण पेश गर्न नसकेर उल्टै प्राध्यापक लेख्न छाडे ।

स्वास्थ्य मन्त्रालयले कृष्ण पौडेलको नेतृत्वमा पठाएको टोलीले आन्दोलनरत बीपी शुद्धिकरण अभियानसँग गरेको सम्झौताअनुसार किर्ते प्राध्यापक उपकुलपति गिरीलाई तत्काल हटाउन सक्ने अर्को आधार देखिन्छ । गिरीलाई बर्खास्त हान्ने यतिका धेरै आधार हुँदाहुँदै प्रधानमन्त्री देउवाले फेरि स्वास्थ्यमन्त्री बिरोध खतिवडाको नेतृत्वमा अर्को समिति बनाएका छन् । हटाउने अधार तय भइसक्दा पनि नहटाई फेरि अर्को समिति बनाउँदा बीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति गिरीले प्रतिष्ठानको साख थप ध्वस्त पार्ने समय पाएका छन् ।

कांग्रेसका संस्थापक नेता बीपीको नामसँग जोडिएको प्रतिष्ठानलाई किर्ते प्राध्यापक गिरीले बद्नाम गराउँदा पनि प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने मेसो नपाउदा गिरीले प्रतिष्ठान र बीपीको नाम दुबैलाई थप रसातलमा पुर्‍याउने अवसर पाएका छन् । प्रधानमन्त्रीले मेसो नपाउँदा किर्ते प्राध्यापक गिरीको बीपीमा रजगज कायमै छ । गिरीलाई जति बीपीमा टिक्न दियो त्यतिनै बीपी प्रतिष्ठानको साख  समाप्त हुुँदै जाने देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com