रामदेवको अवैध दिव्य फार्मेसीलाई सञ्चालन स्वीकृति दिन स्वास्थ्यमन्त्रीमार्फत चलखेल


काठमाडौैं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई प्रयोग गरेर नेपालमा अवैध रुपमा खुलेर बन्द गरिएको भारतीय ब्राण्डको दिव्य फार्मेसीलाई सञ्चालन स्वीकृति दिन चलखेल सुरु भएको छ । भरतीय योग गुरु रामदेवको भारत उत्तराखण्डस्थित दिव्य फार्मेसीको नेपाल शाखा बि.स २०६५ सालमा खुलेको हो ।
औषधि व्यवस्था विभागबाट स्वीकृति लिएर खुलेको दिव्य फार्मेसी २०७५ सालमा आएपछि अवैध भएको पुष्टि भएको थियो । दिव्य फार्मेसीले सबै कागजपत्र नक्कली बनाएर विभागमा पेश गरी अनुमति लिएको थियो । ०७५ सालमा नवीकरणका बेला नक्कली डकुमेन्ट पुष्टि भएपछि औषधि व्यवस्था विभागका तत्कालीन् महानिर्देशक नारायणप्रसाद ढकालले बन्द गरेका थिए । उक्त दिव्य फार्मेसी हालसम्म पनि बन्द रहेको छ । तर, स्वास्थ्यमन्त्रीमा बिरोध खतिवडा आएसँगै स्वीकृति दिन राजनीतिक तहबाटै चलखेल सुरु भएको स्वास्थ्य लाइभले फेला पारेको छ ।


स्वास्थ्य मन्त्रीमा गत २२ असोजमा खतिवडा नियुक्त भएका हुन् । नियुक्ति भएको १५ दिन नपुग्दै उनीमाथी अवैध फार्मेसीलाई स्वीकृति दिन दबाब सुरु भएको आरोप लागेको छ ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालमार्फत स्वीकृतिको कुरा उठेको छ । मन्त्री बिरोध र पार्टी अध्यक्ष नेपाललाई प्रयोग गरेर रामदेवका नेपालस्थित व्यवसायिक साझेदार मेडिसिटी अस्पतालका सञ्चालकसमेत रहेका उपेन्द्र महतोले दिव्य फार्मेसी सञ्चालनको अनुमति दिलाउन चलखेल सुरू गरेको चर्चा छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नक्कली कागजपत्रका आधारमा दिव्य फार्मेसी सञ्चालनको अनुमति लिएको ०७५ सालमा पुष्टि भएसँगै कारबाही स्वरुप बन्द गरिएको बताए । अहिले पुनः स्वीकृतिका लागि निवेदन दिएको उनले भनाइ छ । पाँच वर्षदेखि बन्द रहेको अवैध दिव्य फार्मेसीलाई सञ्चालन स्वीकृतिका लागि निवेदन दिएर स्वास्थ्यमन्त्री खतिवडा र पार्टी अध्यक्ष नेपाल, अन्य राजनीतिक दलका उच्च अधिकारीहरुसँग रामदेवका कर्मचारी पुग्न थालेका छन् ।
दिव्य फार्मेसीबाट उत्पादित ६ वटा औषधिलाई गुणस्तरहीन रहेको बताउँदै बजारबाटसमेत सरकारले २०७४ सालमा तुरुन्त फिर्ता लिन निर्देशन दिएको थियो । सन् १९९५ मा दिव्य फार्मेसी र २००६ मा पतञ्जली आयुर्वेद खोलेर रामदेवले व्यापार गर्दै आएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com