विवादमा आएपछि माओवादी केन्द्रबाट डा. लोहनीको नाम हटाइयो


काठमाडौं । विवादमा आएपछि माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागमा सदस्यबाट निमित्त स्वास्थ्य सचिव डा. गुणराज लोहनीको नाम हटाइएको छ ।

निमित्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य भएको कुरा स्वास्थ्य लाइभले खुलास गरेको थियो । उनको नाम गल्तीले परेकाले हटाइएको माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख कल्पना धमलाको भनाई छ ।

माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागमा निमित्त सचिव डा. लोहनी उनको छद्म नाम डा. जि. आर. लोहनीबाट सदस्य बनेका थिए।  माओवादी केन्द्रका स्वास्थ्य तथा जनसंख्या विभागमा रहेका ३५ जना सदस्यमध्ये स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. लोहनीको छद्म नाम डा. जि. आर. लोहनी २० नम्बरमा रहेको थियो ।

 

त्यस्तै अनियमिततामा मुछिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेक्टर गुरु खनाल, स्वास्थ्यकर्मी माधाव लम्साल, कमल रानाभाटलगायतको नाम पनि हटाइएको छ ।

धमलाको नेतृत्वमा गठन भएको माओवादी केन्द्रको स्वास्थ्य विभागमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका रेक्टर डा. नीरेश थापा, वीपी प्रतिष्ठान धरानमा कार्यरत डा. मधुर बस्नेत, भरतपुर अस्पतालका अध्यक्ष, डा. भोजराज अधिकारी, भरतपुर क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीको भने निर्वाचन आयोगको परिपत्रविपरीत सदस्यमा नाम कायमै राखिएको छ । त्यस्तै भक्तपुर क्यान्सर अस्पतालको मेट्रोन, दयालक्ष्मी जोशी, कर्णाली प्रतिष्ठानका डा. अर्जुन तिवारी, स्वास्थ्य विभागकी भावना सुवेदीलगायतले पनि माओवादी केन्द्रको स्वास्थ्य सेवा विभागको सदस्यमा निरन्तरता पाएका छन् ।

 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बाहलवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेकाले राजनीतिमा भाग लिन निर्वाचन आयोगले निषेध गरेको छ । तर अधिंकाश कर्मचारी यो दफालाई चुनौती दिँदै माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य बनेका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com