देउवाको मानसिक स्वास्थ्यमाथि प्रश्न गर्ने सिईओ रेग्मी निलम्बित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि प्रश्न गर्ने पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मी निलम्बित भएका छन् । शुक्रबार पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति गठन गरेपछि उनी निलम्बनमा परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरण तत्कालीन पर्यटन सचिव यादव कोइरालाले खल्तीमा हालेर हिँडेको चर्चा चल्दै आएको छ ।

कोइरालाको ठाउँ पर्यटन सचिवमा न्यौपानेलाई सरुवा गरेर ल्याएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सिईओ रेग्मीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।

न्यौपानेको अध्यक्षतामा बसेको आजको बोर्ड बैठकले सिईओ रेग्मीमाथि छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । छानबिन समिति गठन भएसँगै सिईओ रेग्मी निलम्बनमा परेका हुन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । कार्य बाहक सिईओको जिम्मेवारी नन्दिनी लाहे थापाले पाएकी छिन् ।

अधिक मदिरा सेवन गरेर ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा ल्याएका रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीले चेकजाँच गर्दा वितण्डा मच्चाएका थिए । विमानस्थल भन्सारमा ड्युटीमा रहेका कर्मचारी सुमन थापालाई उनले अभद्र व्यवहार गरेको भिडिओ सार्वजनिक भइसकेको छ ।

विमानस्थलमा अभद्र व्यवहार गर्ने सिईओ रेग्मीको स्वास्थ्य जाँचपछि चिकित्सकले मादक पदार्थ सेवन (मापसे) गरेको रिपोर्ट दिएपनि त्यो घटना गोप्य राखिएको छ । छानबिन समितिले त्यो सबै तथ्य खोज्ने समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

यसअघि सिईओको रेग्मीको फेसबुक स्टाटसमा प्रधानमन्त्री देउवालाई तुच्छ शब्द प्रयोग गर्दै मानसिक स्वास्थ्य चेक गराउन सार्वजनिक रुपमै लेखेको कुरा स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ ।

पर्यटन बोर्डमा बसेर पदीय मर्यादाविपरीत गतिविधि गर्दै आएका सिईओ रेग्मीमाथि कारबाही गर्न छानबिन समिति गठन गरेलगत्तै उनी निलम्बनमा परेका हुन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com