स्वास्थ्यकर्मीलाई कोभिडको तीव्र संक्रमण, बिनाभत्ता काममा पेलाउँदै सरकार


काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्यसको प्रत्यक्ष असर स्वास्थ्यकर्मीहरुलाई परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दुई हप्तामै साढे ४ सय स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । हिजो मात्र १ सय दुई जना स्वास्थ्यकर्मीमाथि कोरोना संक्रमण भएको छ भने पछिल्लो २४ घण्टामा ९३ जना स्वास्थ्यकर्मी कोरोना पीडित भएका छन् । पछिल्लो तथ्यांकअनुसार ४ सय ५८ स्वास्थ्यकर्मीमाथि कोरोना संक्रमणको पुष्टि भएको छ ।

दोस्रो लहरमा खासै प्रभाव नपरेका स्वास्थ्यकर्मी तेस्रो लहरको सुरुसँगै ठूलो संख्यामा संक्रमित भएको देखिन्छ । कोभिडको केस हेर्ने वीर, पाटन, टिचिङलगायतका अस्पतालमा नै झन्डै आधा स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिनका लागि भने सरकारले कुनै कदम चालेको छैन । दोस्रो लहरको बेला नै दिने भनिएको ५० प्रतिशत जोखिम भत्ता अधिकांश उपचारमा खटिने स्वास्थ्यकर्मीले पाइसकेका छैनन् ।

सरकार र मन्त्री पविर्तन भएसँगै अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउने भनेर घोषणा गरेपनि उनीहरूले अझैसम्म उक्त भत्ता पाउन सकेका छैनन् । प्रशासन सेवामा कार्यरत कर्मचारीले भने कोरोना भत्ता भ्याइसकेका छन् । काठमाडौंको अधिकांश स्थानीय तहमा कार्यरत प्रशासनका कर्मचारीले कोरोना भत्ता खाइसक्दा पनि स्वास्थ्यकर्मी भने हेरेको हेरेकै छन् ।

अझ रोचक पक्ष त के छ भने तेस्रो लहरले स्वास्थ्यकर्मीले स्थिति भयावह हुँदै गएपनि सरकार र स्वास्थ्यमन्त्री विरोध खतिवडा कानमा तेल हालेर बसेका छन् । स्वास्थ्यकर्मीलाई काममा प्रोत्साहित गर्न जोखिम भत्ता उपलब्ध गराउनु पर्छ भन्ने चेत पनि उनीसँग रहेको देखिँदैन ।

आफ्नै ज्यान जोखिममा राखेर बिना भत्ता बिरामीको सेवामा खटिन स्वास्थ्यकर्मी तत्पर छैन । यस्तो अवस्थामा पनि सरकारले अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गर्न सकेको छैन । यसले मन्त्री खतिवडा र सरकारको नियत प्रस्ट हुन्छ । स्वास्थ्यकर्मीलाई न पहिलाको जोखिम भत्ता दिइयो न नयाँ भत्ता दिने निर्णय गरियो । आफ्नै ज्यान जोखिमममा राखेर किन काम गर्ने भनेर अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी प्रश्न गर्न थालेका छन् ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ##काेभिड-१९, ##जाेखिम भत्ता, ##डाक्टर, ##नर्स, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com