वीपी प्रतिष्ठानमा पदाधिकारीको हैसियतमा काम गर्न डा. यादव धरान पुगे


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पदाधिकारीको हैसियतमा काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादव धरान पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको हैसियतमा काम गर्न धरान पठाएको हो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई साथमा लिएर डा. यादव आज धरान पुगेका हुन् ।

प्रतिष्ठानका प्रमुख पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकलाई काम गर्न रोक लगाउँदै सरकारले त्यो हैसियतमा गर्न यादवलाई तोकेको हो । मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले अस्पतालको सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. यादवलाई पठाउने निर्णय गरेको थियो ।

त्यस्तै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एकजना उपसचिव पठाउने पनि उक्त निर्णयमा उल्लेख थियो । त्यहिँ निर्णयका आधारमा डा. यादव उपसचिव तहका कर्मचारी यादवलाई साथमा लिएर धरान पुगेका हुन् । तर सरकारको उक्त निर्णय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनविपरीत देखिन्छ ।

पदाधिकारीको हैसियतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ यादवलाई प्रतिष्ठान तथा अस्पतालमा कार्यरत जनशक्तिलाई आवश्यकताअनुसार काममा लगाउने र अन्य कुनै खास कामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत जनशक्तिलाई काममा लगाउनु पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई काममा खटाउन सक्ने अधिकार समेत प्रदान गरिएको छ ।

प्रतिष्ठान तथा अस्पतालको बैंक खाता सञ्चालन भने डा. यादव र लेखा उपसचिव अधिकारको संयुक्त हस्ताक्षरबाट हुने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## डा. श्याम सुन्दर यादव, ##धरान, ##वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ##शेर बहादुर देउवा, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com