सत्ताले ‘पूजा’ गर्ने डा. भगवानको घट्दो लोकप्रियता !


समाचार टिप्पणी

काठमाडौं । डा. भगवान कोइराला जुनसुकै सरकार र स्वास्थ्यमन्त्री भएपनि प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय वरिपरि भेटिने नाम हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सत्ता र डा. भगवानलाई एकै सिक्काको दुई पाटाको रूपमा बखान गर्दछन् । डा. भगवान कोइराला राजनीतिक दलका नेताहरुसँग पनि गहिरो सामिप्यता राख्दछन् । नेपाली कांग्रेसका डा. शशांक कोइरालालगायतका नेता, नेकपा एमालेका भानुभक्त ढकाल हुँदै केपी ओलीसम्म, नेकपा (एस)मा सीधै माधव नेपालसँग र अन्य दलका अनेकौं नेताहरुसँग डा. भगवानको उठबस छ । ‘जुनसुकै मन्त्री आएपनि डा. भगवानको साथ नपाए स्वास्थ्य मन्त्रालाय नै नचल्ने जस्तो बनाएर आफ्नो अनुकूल निर्णय गराउन माहिर छन् डा. भगवान’, मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग उनकोबारेेमा आफ्नो अनुभव सुनाए ।

यसरी सत्ताले सधै ‘पूजा’ गर्ने  डा. भगवान विवाद मुक्त भने देखिँदैनन् । ह्याम्स अस्पतालमा लगानी तथा नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुँदा समेत उक्त अस्पतालको बजारीकरण गर्ने, बाल अस्पताल निर्माण सम्बन्धमा सुर्ती सम्बद्ध कम्पनीबाट आर्थिक सहयोग लिने, मन्त्रीलाई प्रभावित गरेर आफूअनुकूलका उपकरण राज्यलाई भिडाएर व्यापारीको व्यापार फैल्याउनेसम्म गतिविधिमा संलग्न रहँदै आएको डा. भगवानमाथि आरोप छ ।

तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कार्यकालमा ह्याम्स अस्पताल एवं भण्डारी सर्जिकलका मालिक आरएस भण्डारीमार्फत व्यापार गर्ने गरी ओम्नी काण्ड गराउन समेत डा. भगवानको नाम र काम जोडिएको स्वास्थ्य मन्त्रालयमा चर्चा हुँदै आएको छ । ओम्नी काण्ड बाहिरिएपछि स्वास्थ्यका अधिकांश मेडिकल सामग्री खरिदका ठेक्का ह्याम्सका मालिक भण्डारीले नै हत्याउनुले डा. भगवानमाथि लागेको यो आरोपमा दम देखिन्छ ।

तत्कालीन ढकाललाई स्वास्थ्य सामग्री खरिदमा आफूअनुकूल उकास्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रमुख व्यक्ति डा. भगवान नै रहेको मन्त्रालयका अधिकारीहरु बताउछन् । आरएस भण्डारीलाई राष्ट्रपतिद्वारा ‘सुप्रबल जनसेवा श्री पदक’बाट विभूषित गराउन पनि डा. भगवानको मुख्य भूमिका रहेको स्वास्थ्य मन्त्रालयमा टीका टिप्पणी हुने गर्दछ ।

त्यस्तै सूर्य टोबाटो कम्पनीसँग ५ करोड पैसा लिन खोजेपछि भगवानको चर्को आलोचना र विवाद भयो । मुटुका डाक्टर भगवानको  नाम र काम नै बद्नाम हुने भएपछि सूर्य चुरोट उत्पादन गर्ने उक्त कम्पनीबाट ५ करोड नलिई पछाडि हटे ।

अहिले बाल अस्पतालको नाममा पनि भगवानमाथि थुप्रै टीका टिप्पणी हुने गरेकाे छ । सरकारी जग्गा सित्तैमा लिएर अस्पतालको नाममा व्यापार गर्न खोजेको भन्दै भगवानको आलोचना हुँदै आएको छ । उनले भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव गोपीनाथ मैनालीलाई यसो जीविकोपार्जन गर्न खोजेको भन्दै जग्गा मागेपछि सचिव मैनाली तपाईं जस्तो सम्मानित व्यक्तित्वले यस्तो कुरा नगर्नुहोस् भन्दै रिसाएको प्रसंग भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरू सुनाउँछन् । यद्यपि सत्ताले पूजा गर्ने भगवान भएकाले उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा सरकारी जग्गा फुत्काउन सफल भए ।

अहिलेका स्वास्थ्यमन्त्री विरोध खतिवडाको किचेन क्याबिनेटमा पुगेका डा. भगवान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसमा भने नराम्ररी चिप्लिएका छन् ।  सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी ‘किर्ते’ प्राध्यापक भएको पुष्टी भइ निजलाई कामकाज समेत गर्न रोक लगाएर पदबाट बर्खास्त गर्ने तयारी गरिरहेको बेला डा. भगवानले भने अर्का ‘किर्ते’ प्राध्यापक डा. ऋषिकेश नारायण श्रेष्ठलाई राप्तीको उपकुलपति बनाउन नाङ्गो हस्तक्षेप गरेका छन् । उनलाई स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठित उपकुलपति छनौट समितिको सदस्यमा प्रधानमन्त्रीले राखेका थिए ।

तत्कालीन समयमा काठमाडौं विश्वविद्यालयको मातहतको शिक्षण अस्पतालको रूपमा रहेको बी. एण्ड. बी. अस्पतालमा सर्जनको रूपमा सेवा शुरु गरेका डा. श्रेष्ठलाई सो विश्वविध्यालयले नभई बी. एण्ड. बी. अस्पतालले लेक्चररको पदमा नियुक्ति दिएको तथ्य डा. भगवानले शक्तिको आडमा हेर्न भ्याएनन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस महाराजगन्जले डा. श्रेष्ठलाई एकै दिन सह-प्राध्यापक र प्राध्यापक नियुक्ति मिति तोकेको भ्रमपूर्ण चिठ्ठी समेत डा. श्रेष्ठको नाम सिफारिस गर्दा डा. भगवानले हेरेनन् ।  डा. भगवानलाई पक्कै याद हुनुपर्दछ, “प्राध्यापक” पद कुनै पनि विश्वविध्यालयले सो को मातहतमा शिक्षण र अनुसन्धान गर्ने शिक्षकलाई आफ्नो मापदण्ड पुरा गरे पछि दिने गरिन्छ ।

डा. श्रेष्ठलाई नेपालको कुनै पनि विश्वविध्यालयले प्राध्यापक पद दिएको देखिंदैन । किष्ट मेडिकल कलेजले कुनै पनि अनुसन्धान र शिक्षण अनुभव समेत नभएका डा. श्रेष्ठलाई सीधै प्राध्यापक भनी नियुक्ति दिएको र किष्ट मेडिकल कलेजलाई सो को अधिकार नभएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस महाराजगञ्जले डा. श्रेष्ठको प्राध्यापक नियुक्ति को कुनै रेकर्ड नरहेको जानकारी दिँदा समेत डा. भगवान भने डा. श्रेष्ठलाई नै उपकुलपति बनाउन दौडधुप गर्दैछन् ।  भगवानले डा. श्रेष्ठको नाम सिफारिस भइसकेकाले विवादमा आएपनि फिर्ता लिन नमिल्ने तर्क गर्दै आएका छन् ।

तत्कालिन समयमा “गंगालाल हृदय रोग अस्पताल” देशमा एक मात्र मुटु रोग उपचार गर्ने अस्पताल रहँदा नेतृत्व गर्ने मौकासहित धेरै नेता र व्यापारीको मुटु जाँचेर त्यो वृत्तमा लोकप्रिय बन्दै भगवानकै दर्जा पाएका उनको स्वास्थ्य मन्त्रालयमा विगत केही वर्षदेखि भइरहेको अनावश्यक चलखेलले भने उलको लोकप्रियतालाई जमिनमा झार्न थालेको मन्त्रालयमा चर्चा चल्न थालेको छ ।  कर्मले भगवानको हैसियत बनाएका डा. भगवान कर्मले नै बदनाम हुने दिशातर्फउन्मुख देखिन्छन् ।

आफ्नो नाम,कर्म र धर्म जोगाउन सच्चिने कि विवादित विषयमा हात हालेर बदनाम हुँदै सक्किने डा. भगवानमै भर पर्ने कुरा हो ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #आरएस भण्डारी, #डा. ऋषिकेश नारायण श्रेष्ठ, #डा. भगवान कोइराला, #बाल अस्पताल, #विवाद, #विवादित, #सत्ताले पूजा गर्ने, #सूर्य टोबाको कम्पनी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #ह्याम्स अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com