क्यान्सर उपचारमा सेटिङ

चिकित्सकसँग मिलेर बिरामी भारत पठाइन्छ, स्वदेशमा भएको उपकरण संचालनमा प्रतिबन्ध लगाइन्छ


काठमाडौं ।  नेपपालबाट लाखौं रुपैयाँ तिरेर क्यान्सर रोगको जाँच गराउन मात्रै नेपालीहरु भारतका महँगा अस्पतालमा पुग्ने गरेका छन् । मुख्य गरी अपोलो, म्याक्स जस्ता अस्पतालले नेपालमा शाखानै खोलेर बिरामी ओसार्नेकाम गरिरहेको छ ।

क्यान्सर रोगको जाँच गर्ने (पेट सिटी स्क्यान) मेसिन नेपालमा तीनवटा संस्थासँग मात्रै रहेको छ । जानकारीमा आए अनुसार सूरिया, कुण्डलिनी डायग्नोस्टिक र पूर्वाञ्चल क्यान्सर अस्पताल झापामा पेट सिटी स्क्यान मेसिन छ ।

कोरोनाका कारण सूरिया र कुण्डलिनी डायग्नोस्टिकले सेवा दिन सकेका छैनन् । यता झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालले अनुमति पाएको छैन । विगत १४ महिनादेखि पेट सिटी स्क्यान मेसिन थन्क्याएर राखेको छ । गरिबले सेवा नपाएर छटपटाई रहेका बेला स्वास्थ्य मन्त्रालयमा बस्ने उच्च अधिकारीमा अलिकति पनि मानवता देखिएन । जसका कारण धनि भारत जाने र गरिब मर्ने अवस्था भइरहेको छ ।

बिरामी भारत पठाए बापत कमिसन पाउँने लोभले बिचौलियाहरुले नेपालका उपकरण चल्न नदिने र बिभिन्न बाहना बनाएर बिरामी भारत जान बाध्य पारिरहेको बुझिएको छ । यसको उदाहरण पनि स्वास्थ्य मन्त्रालयले १४ महिना सम्म पूर्वाञ्चल क्यान्सर अस्पतालले संचालन गर्न लागेको पेट सिटी स्क्यानलाई अनुमती नदिनु हो ।

अधिकारीहरुले बताए अनुसार बिरामी भारत पठाउँनकै लागि अनुमती रोकिएको हो । यसमा मन्त्रालयका अधिकारीहरु मात्रै हैन, क्यान्सरको रोग पत्ता लगाउने चिकित्सकहरुको पनि निकै ठुलो हात रहेको छ । भारतिय एजेन्टका रुपमा नेपालमा एपोलो, म्याक्स लगायत आधा दर्जन अस्पतालले एजेन्ट राखेका छन् । उनिहरु नेपालमा घुमिरहेका हुन्छन् ।

क्यान्सरका क्षेत्रमा काम गर्ने चिकित्सकहरुले बताए अनुसार उच्च स्तरका चिकित्सक माफियासँग मिलेर बिरामी भारत पठाउँछन् र स्वदेशमा भएको उपकरण संचालनमा प्रतिबन्ध लगाइन्छ ।

नेपाल मेडिसिटी अस्पतालका चिकित्सक डा. सुनिल शर्मा पेट स्क्यानका लागि चाहिने आवश्यक कच्चा पदार्थ नेपालमा नबन्ने भएकाले समस्या भएको बताउँछन् । कच्चा पदार्थ भारतबाट आउँनुपर्छ । डा. शर्माका अनुसार महिनामा ५० जना बढी बिरामी पेट सिटी स्क्यान गर्न भारत जाने गरेका छन् । तर, यी सबै उच्च घरनाका हुन् ।

डा. शर्माका अनुसार यस्तो महत्वपूर्ण विषयमा नेपाल सरकारले अहिले सम्म दुख दिने काम गरिरहेको छ । उनि भन्छन्, ‘ साँच्चै भन्ने हो भने, गरिबहरुले पेट सिटी स्क्यान गराउँदैनन् । त्यसैले भक्तपुर, भरतपुर लगायतका सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरुको हिसाब यसमा राखिएको छैन ।’, पेट सिटी स्क्यान गराउनै पर्ने छ, तर, गरिबिको करणले नसकेर बसेकाहरु महिनामा १ सय ५० जना भन्दा बढी हुन्छन् । डेढ सय जनाले चाहेर पनि सेवाको पहुँचमा पुग्न सक्दैनन् । ५० जना जो सक्षम छन् । उनीहरु भारतमा गएर गराउँदै आएका छन् ।

चिकित्सकहरुको अनुसार उपचार सुरु हुनुभन्दा अगाडि र उपचार सकिएपछि गरेर दुईपटक पेट सिटी स्क्यान गरिन्छ । एकपटक गरेको भारतमा भारतीय रुपैयाँ २५ देखि ३० हजारसम्म लाग्छ । नेपालमा भने एक पटक गरेको ७५ हजार रुपैयाँ लाग्छ । भारत जाँदा आउँदा बस्दा विभिन्न खर्च जोड्दा एकपटकको दुईदेखि तीनलाख रुपैयाँ लाग्ने चिकित्सकहरु बताउँछन् ।

राज्यले यस क्षेत्रमा ५० करोड लगानी गरेको खण्डमा पेट सिटी स्क्यान गर्न नसकेर मृत्युवरण रोजेका १ सय ५० जना गरिब नागरिकले सेवा पाउँने थिए । भारतमा बिरामी पठाउँने एक जना चिकित्सकले स्वास्थ्य लाइभलाई बताएअनुसार प्रतिकेस ८ हजार रुपैयाँ सिफारीस गर्ने चिकित्सकले पाउँछन् । तर, नेपालमा कमिसन पाउँदैनन् । त्यसैले सबै नेपालमा पेट सिटी स्क्यान चल्नु हुदैन भन्नेमा मन्त्रलायका उच्च अधिकारीदेखि भारतका एजेन्टहरु समेत सक्रिय भएर लागि परेका छन् । हरेक महिना १ देखि दुईकरोड रुपैयाँ पेट सिटी स्क्यानका नाममा विदेशीएको छ ।

 

उपकरण हेर्दै नागरिक भारत गइरहेका छन् 

डा. वीरेन्द्रकुमार यादव

निर्देशक, पूर्वाञ्चल क्यान्सर अस्पताल 

नेपालमा क्यान्सर रोग पत्ता लगाउने पेट सिटी स्क्यान मेसिन संचालनमा छैन । भएका दुई वटा सस्थाको पनि सेवा ठप्प भएको अवस्था छ । कोरोना महामारीको समयमा नेपालीहरुले सेवा नपाएर ठूलो दु:ख मात्रै झेलेनन् । धेरैको सेवा नपाएर मृत्यु भएको छ । यसलाई मध्यनजर गर्दै पुर्वाञ्चल क्यान्सर अस्पतालले ३० करोड रुपैयाँ लगानी गरेर पेट सिटी स्क्यान मेसिन ल्याएको थियो । उक्त मेसिन १४ महिना देखि स्वास्थ्य मन्त्रालयले चलाउन दिएको छैन ।

विभिन्न नाममा अनुमति रोकेको छ । सरकारी अस्पतालहरुनै अनुमती बिना संचालनमा छन् । तर, महत्वपूर्ण सेवाका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीले विभिन्न बाहना देखाएर सेवा रोक्नु आश्चर्य छ । अहिले बिरामीहरु हाम्रोमा ल्याएको पेट सिटी स्क्यान मेसिन हेर्ने र दुखि हुदै भारत जाने बाहेक कुनै काम भएको छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #क्यान्सर अस्पताल, #डा. वीरेन्द्र यादव निर्देशक, #डा. सुनिल शर्मा, #पेट सिटी स्क्यान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com