उपेन्द्रपछि माधव नेपालको पार्टी फुटाउने कसरत


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको पार्टी फुटाएपछि माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्ने कसरत सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गडबडी आउने संकेतपछि उपेन्द्रको जनता समाजवादी पार्टी(जसपा) नेपाल फुटाइदिएका छन् । जसपापछि माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी फुटाउने कसरत सुरु भएको छ । उपेन्द्र अमेरिकाबाट फर्किनुभन्दा अगाडि नै उनको पार्टी शक्ति केन्द्रले फुटाइदिएको हो । अर्को गठबन्धनको चलखेलमा रहेका उपेन्द्रपछि माधवकुमार नेपालको पार्टी फुटाउने खेल सुरु भएको देखिन्छ ।

प्रचण्ड-ओलीको निरन्तर वार्तापछि साना दलहरु फुटाउने गृहकार्य सुरु भएको हो । त्यसको पहिलो शिकार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जसपा नेपाल बनेको छ । जसपा, नेपालका १२ जना सांसदमध्ये उपेन्द्रको पक्षमा राजकिशोर यादव, दीपक कार्की, प्रकाश अधिकारी र रेखा यादव मात्र बाँकी छ । अशोक राईसहित ७ जना सांसद भने जनता समाजवादी पार्टी दर्ता गराएर उपेन्द्रबाट अलग भएका छन् । अशोकसँग सांसदहरु डा. वीरेन्द्रकुमार महतो, प्रदीप यादव, हसिना खान, नवलकिशोर शाह सुडी, रञ्जु ठाकुर र सुशीला श्रेष्ठ विभाजन भएर गएका हुन् ।

बहुमत सांसदसहित जसपा, नेपाल फुटाएको शक्तिको दोस्रो ‘एटेम्प्ट’ माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमाथि रहेको बुझिन्छ । एकीकृत समाजवादीका बहुमत सांसद माधवको विपक्षमा रहेका दाबी गरिएको छ । अन्तिममा मेटमणि चौधरी र उनी मात्र पार्टीमा रहने समेत चर्चा हुन थालेको छ ।

नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र जनमत हुँदै त्यसको पराकम्पन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सम्म पुग्ने आँकलन गरिएको छ । पार्टी विभाजनको यो चक्र कहाँसम्म पुगेर रोकिन्छ अहिल्यै भन्न सक्ने अवस्था छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com