रविको सुशासन: अध्यागमनका डिजी निरौलाले काव्या रिसोर्टका अवैध जिएम लुकासलाई सुटुक्क छाडिदिए


समाचार टिप्पणी

काठमाडौं । सुशासनको जलप लगाउँदै गृहमन्त्री बनेका रवि लामिछानेलाई कस्तो हुन्छ सुशासन भनेर उनी मातहत कै अध्यागमन विभागका महानिर्देशक (डिजी) कोषहरि निरौलाले देखाइदिएका छन् । नगरकोटको काव्या रिसोर्ट एण्ड स्पामा ५ महिनादेखि अवैध रुपमा  काम गरिरहेका लुकास प्रेन्डकेलाई सुटुक्क छाडेर उनले सुशासनको ‘नमूना’ देखाएका हुन् ।

पोल्याण्डका नागरिक लुकास पर्यटक भिसामा नेपाल आएर काव्याको महाप्रबन्धक (जिएम) भएर काम गरिहेका छन् । चीन, माल्दिभ्स र श्रीलंकाको होटलमा बदनामी कमाएपछि उनी नेपाल भित्रिएका हुन् । विशाल  ग्रुप, गोल्छा र पृथ्वीबहादुर पाँडे समूहको संयुक्त लगानीमा रहेको काव्यामा पर्यटक लुकासलाई  जिएम बनाएको स्वास्थ्य लाइभ खुलासा गरिसकेको छ । ३ अर्ब बढीमा बनेको पाँचतारे रिसोर्टमा अवैध रुपमा काम गरिरहेका विदेशीलाई अध्यागमन विभागले शुक्रबार दिउँसो एकछिन राखेर सुटुक्क छाडेको छ ।

लुकास गोल्छासँग आइतबार बिहान दुबई जाँदैछन् । उनी एकहप्ता अगाडि मात्रै श्रीलंका पुगेर आएका हुन् । लुकासको परिवार श्रीलंकामा रहेकाले उनी नियमित रूपमा आउने-जाने गरिरहन्छन् । कमलपोखरीको जग्गा हडपेर छायाँ सेन्टर ठड्याउँने पाँडे र बालमन्दिरको जग्गामा रजगज चलाइरहेको विशाल ग्रुपले चलाएको काव्या रिसोर्टमा अवैध धन्दा चलिरहेको पाइन्छ । यतिका प्रमाण हुँदा पनि अध्यागमन विभागका महानिर्देशक निरौलाले लुकासलाई सुटुक्क छाडेर दुबई जाने बाटो खुलाइदिएका हुन् ।

मासिक १० लाख रुपैयाँ पाउने गरी काव्याको जिएम बनेका लुकाससामू अध्यागमनका महानिर्देशक नतमस्तक बनेका छन् । पर्यटक भिसामा नेपाल आएर काम गरिरहेका प्रमाण हुँदाहुँदै उनले उन्मुक्ति पाएका हुन् । यसले अध्यागमन विभागले कसले र कसरी चलाउँछ भन्ने गम्भीर प्रश्न उठेको छ । अध्यागमनका डिजी निरौला नेपाल सरकारको कर्मचारी भएर नियम, कानुन कार्यान्वयन गर्नतर्फ लाग्नु पर्ने हो । तर, उनी त सरकारभन्दा पनि विशाल ग्रुप, गोल्छाप्रति बढी बफादार भएको टिप्पणी हुन थालेको छ ।

रविले चलाएको गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले लुकासमार्फत सुशासनको राम्रै ‘ऐना’ देखाइदिएको छ । त्यसो त निरौला अगाडिका अध्यागमनका डिजीहरुको खासै राम्रो भएको छैन । झलकराम अधिकारी सुन तस्कर दाबा छिरिङसँगको कनेक्सनले अध्यागमनबाट हटेका थिए । त्यसपछि अध्यागमनका डिजी बनेर गएका रुद्रसिंह तामाङ मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन् । तामाङपछि गएका निरौलाको पनि उस्तै ताल देखिन्छ । निरौलाले पनि अघिल्ला डिजीको पदचाप पछ्याउँन थालेको टिप्पणी हुन थालेको छ ।

लुकासलाई अन्तर्राष्ट्रिय होटल तस्कर टीजे ग्रुन्डी-हङले नेपाल भित्र्याएका हुन् । लिफ हस्पिटालिजी कम्पनीका मालिक टीजेले नै लुकासलाई काव्याको जिएम बनाएका हुन् । त्यसबापत उनले लुकासबाट मासिक ४० प्रतिशत कमिसन लिने गरेका छन् ।

एभरेष्ट म्याराथनमा नेपाल आएको र काव्यामा बसेको बहाना बनाएर लुकास अध्यागमनबाट छुटेका छन् । अब काव्यामा बसे- खाएको बिल पेस गरेर ‘इस्यू’ राफसाफ बनाउने र प्रक्रिया मिलाएर काव्याको जिएम भइरहने उनीहरुको योजना छ । त्यो योजनालाई अध्यागमनका डिजी निरौलाले साथ दिएको देखिन्छ । निरौला भने उक्त विषय प्रक्रियामै रहेको बताउँछन् । अध्यागमनको सम्पर्कमा आइसकेको व्यक्तिलाई सुटुक्क छाड्नुले प्रक्रिया राम्रैसँग अघि बढिरहेको छ भन्ने बुझिन्छ । लुकास जस्तै नेपालमा आएर अवैध धन्दा चलाउने धेरै विदेशी छन् । उनीहरुलाई पनि अध्यागमनले यस्तै ‘प्रक्रिया’ पूरा गर्ने गरेको चर्चा छ । अध्यागमनतिर अहिले राम्रै सुशासन चलिरहेको पाइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, #काव्या रिसोर्ट एण्ड स्पा, #टीजे, #लुकास प्रेन्डके, #विशाल ग्रुप-गोल्छा-पाँडे समूह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com