आफैंले पढाएका डाक्टरसँग भोजपुरमा जम्काभेट भएपछि…


भोजपुर । भोजपुर नगरपालिकाको आयोजना, नेपाल चिकित्सक संघ र दावाँली मिलन क्लबक  समन्वय सहकार्यमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा अनेकौं प्रसंग जोडिएका छन् । पूर्वको प्रदेश नम्बर एकदेखि पश्चिमको सदूरपश्चिम प्रदेश  देशको मध्यभागदेखि तराई-मधेससम्मका ख्यातीप्राप्त चिकित्सक शुक्रबार र शनिबार भोजपुर सदरमुकाममा जमघट भएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको कमाण्डमा नेपालमै कहलिएका ५० जनाभन्दा बढी विशेषज्ञ चिकित्सक निःशुल्क स्वास्थ्य शिविरका लागि भोजपुरमा रहेका हुन् । उनीहरूबाट हिजो मात्रै भोजपुर स्वास्थ्य शिविरमा २५ सय बिरामीले विशेषज्ञ सेवा लिएका छन् ।

भोजपुर जिल्ला अस्पताल  र अस्पतालकै आडमा रहेको विद्योदय विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

भोजपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सेवा दिए भोजपुरकै पूर्व दक्षिण भेगमा पर्ने पौवा दुङमा गाउँपालिकाका बास्तिमस्थित अस्थायी कोभिड-१९ अस्पतालबाट कैलाश विश्वकर्मा भन्ने डाक्टर पनि आएका छन् ।

ती डाक्टरसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको जम्काभेट भएपछि उनी भावुक देखिए ।  मणिपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका कैलाश भावुक बन्नुको कारण थियो राज्यमन्त्री श्रेष्ठले आफूमाथि लगाएको गुन ।

विद्योदय विद्यालयबाट ‘टप’ गरेपछि उनलाई अब कसरी आफ्ना करियर बनाउने भन्ने चिन्ता थियो त्यहिँबला लिटल एन्जल्स(एलए) स्कूलका सञ्चालक उमेेश श्रेष्ठले विद्योदय उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे ।  उमेश सरको उक्त उद्घारताले आफूमाथि ठूलो गुन लगाएको डा. कैलाश स्वास्थ्य लाइभलाई सुनाउँछन् ।

कैलाशलाई पढाई शुल्क नलागेपनि कहाँ बस्ने र कसरी काठमाडौंमा टिक्ने भन्ने अर्को चिन्ता थपियो । एलएमै बस्ने व्यवस्था मिलाइदिएपछि भने उनी ढुक्क भए । त्यसपछि पढाईलाई निरन्तरता दिँदै प्लस टू एलएबाटै सके ।  विज्ञान विषयमा प्लस टू सकेका कैलाशलाई डाक्टर बन्ने इच्छा पलायो । त्यो इच्छा पूरा गर्ने सुत्र उमेशले बताइदिए । त्यसपछि उनी थप एक वर्ष एलएमै बसेर एमबीबीएसको तयारी थाले । नभन्दै उनले नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्न सफल भए ।

शिक्षा मन्त्रालयको कोटाबाट कैलाश पोखोरास्थित मणिपाल मेडिकल कलेजमा पढ्न त गए तर खाना र बस्नको व्यवस्थाको अर्को समस्या आइपर्‍यो । भोजपुरको गरिब परिवारमा जन्मे हुर्केका उनलाई एमबीबीएस पढुन जेलको अन्य सबै खर्च उमेशले नै बेहोरेको कैलाशले सुनाए ।

एमबीबीएस सकेपछि उमेशकै सल्लाहमा भोजपुरे जनताको सेवा गर्न आएको डा. कैलाश बताउँछन् । ‘एमबीबीएस सकेपछि उमेश सरले बाबु जिल्लाको सेवा गर्नुपर्छ भन्नुभयो त्यसैले भोजपुर जिल्लामा आएर सेवा गर्न थालेको हुँ’, उनले भने ।   डा. कैलाश सुरुमा आएर दुई वर्ष भोजपुर जिल्ला अस्पतालमा सेवा दिए । त्यसपछि भोजपुरको अलि दुर्गम मानिने बास्तिममा गएर सेवा दिन थालेको पनि १८ महिना भइसकेको छ । अझैं केही वर्ष भोजपुरमै बसेर सेवा दिने इच्छा रहेको उनले स्वास्थ्य लाइभलाई सुनाए ।

भोजपुरमा  जिल्ला अस्पतालमा स्वास्थ्य शिविर हुँदैछ भनेपछि डा. कैलाश बास्तिमबाट भोजपुरतर्फ हानिए । स्वास्थ्य शिविर उद्घाटन गर्ने कार्यक्रमका प्रमुख अतिथिको रुपमा राज्यमन्त्री श्रेष्ठ पनि भोजपुर आएका छन् । त्यसै अवसरमा राज्यमन्त्री श्रेष्ठ र डा. कैलाश विश्वकर्माबीच जम्काभेट थयो ।

आफैंले पढाएका डाक्टरसँग भोजपुरमा जम्काभेट भएपछि राज्यमन्त्री श्रेष्ठ पनि निकै उत्साहित देखिए । उनले विद्योदय विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रममा कैलाशलाई डाक्टर बनाउन भूमिका खेलेको प्रसंग सुनाए । साथै उनले उक्त विद्यालयबाट टप गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको समेत सुनाए । उमेशले कैलाशसहित धेरैलाई डाक्टर बनाइसकेका रहेछन् । डा. कैलाश पनि उमेशलाई भेटेपछि निकै दंग परे ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #डा. कैलाश विश्वकर्मा, #निःशुल्क स्वास्थ्य शिविर, #नेपाल चिकित्सक संघ, #भोजपुर जिल्ला अस्पताल, #भोजपुर नगरपालिका, #राज्यमन्त्री उमेश श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com