किर्ते प्राध्यापक गिरीको वीपी प्रतिष्ठान डुबाएर बीएण्डसी अस्पताल उकास्ने दाउ


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति ज्ञानेन्द्र गिरीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने गरी सम्झौता गरेको खुलासा भएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार झापाको बिर्तामोडस्थित प्रस्तावित बीएण्डसी मेडिकल, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई वीपी प्रतिष्ठानले हेर्ने एमबीबीएस कार्यक्रम सञ्चालन सम्बन्धन दिने सम्झौता भएको फेला परेको हो ।

काठमाडौं विश्वविद्यालय र वीपी प्रतिष्ठानबीच भएको सम्झौतामा बीएण्डसीलाई विश्वविद्यालयले सम्बन्धन दिने र एमबीबीएसलगायतका कार्यक्रम वीपी प्रतिष्ठानले हेर्ने गरी गोप्य सम्झौता गरिएको डकुमेन्ट स्वास्थ्य लाइभले फेला पारेको छ ।

वीपी प्रतिष्ठानका उच्च अधिकारीहरुले भने  यो कदमलाई किर्ते प्राध्यापक उपकुलपति गिरीको बीपी प्रतिष्ठान डुबाएर बीएण्डसी अस्पताल उकास्ने दाउ रहेको टिप्पणी गरेका छन् ।

स्वास्थ्य लाइभलाई प्राप्त सम्झौतामा काठमाडौं विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापाले र वीपी प्रतिष्ठानका तर्फबाट किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीले हस्ताक्षर गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको छानबिन समितिले प्राध्यापक उपाधि किर्ते रहेको प्रमाणसहित प्रतिष्ठानको ऐनको दफा ११(घ) वमोजिम बर्खास्त गर्न सिफारिस गरिएका वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीको एकपछी अर्को अनियमितता सार्वजनिक हुने क्रममा छ । काठमाडौं विश्वविद्यालयसँगको मिलेमतोमा बीएण्डसीलाई सम्बन्धन दिएर मेडिकल कलेज सञ्चालन गर्ने गरी सम्झौता गरेको तथ्य फेला पर्नुले किर्ते प्राध्यापक गिरीले वीपी प्रतिष्ठानमा यस्ता कर्तुत धेरै गरेको हुन सक्ने सम्भावना रहेको छ ।

बिराटनगरस्थित तत्कालीन बिराट अस्पतालका मालिक डा. ज्ञानेन्द्रमान सिंह कार्कीबाट “प्राध्यापक सरहको सेवा सुविधा दिने” भनि प्राप्त गरेको चिठ्ठीलाई ‘प्राध्यापक’ भएको दाबी गर्ने उपकुलपति गिरीले आफ्नो उपाधि किर्ते रहेको सार्वजनिक भएपछि भने नामको अगाडि ‘प्राध्यापक’को फुर्को हटाएका छन् । ‘नैतिकताको खडेरी परेको देशमा विश्वविद्यालय जस्तो संस्थाको प्रमुखको यस्तो ठूलो किर्ते कर्तुत प्रमाणित हुँदा समेत सरकार मौन रहेको र उनी बीपी प्रतिष्ठानका सयभन्दा बढीको संख्यामा रहेका प्राध्यापकहरूको हाकिम भएर बस्नु सरकारको निमित्त लज्जास्पद रहेको’ प्रतिष्ठान सुद्धीकरण अभियानका एक प्राध्यापक बताउँछन् ।

डा. गिरीले केही समय अगाडि सम्पन्न नेपाली कांग्रेसको महाधिवेसनमा प्रदेश न. १ बाट प्रतिनिधित्व गर्ने एक प्रभावशाली मन्त्रीलाई ‘मोटो रकम’ बुझाएको कारण नै प्रधानमन्त्री कार्यालयमा स्वास्थ्यमन्त्री खतिवडाले बुझाएको सिनेट बोलाउने स्वीकृति सम्बन्धि फाइल अड्किएको प्रदेश न. १ का नेपाली कांग्रेसका नेताहरूको बुझाई छ ।  यसैबीच गत हप्ता बुधबार एक व्यापारिक घरानाको पहलमा उपकुलपति गिरी र स्वास्थ्यमन्त्री खतिवडाबीच गोप्य बैठक बसेको चर्चा चलेको छ । मन्त्रीमण्डल पुनर्गठनको हल्लाको झोंकमा बहालवाला मन्त्री खतिवडाले समेत “जो हात सो जगन्नाथ” गर्न लागेको हो कि भन्ने आशंकाले प्रतिष्ठानको सद्धीकरण आन्दोलनमा लागेर सर्वोच्च अदालतमा मुद्दा समेत खेपिरहेका शिक्षक तथा कर्मचारीमा चरम निरासा छाएको छ ।
उता बीपी प्रतिष्ठानको आन्तरिक व्यवस्थापन भने भद्रगोल अवस्थामा छ । प्रतिष्ठानमा एक अर्बभन्दा बढी बेरुजु पुगेको छ । उपकुलपति गिरीले गरेका प्राय: सबै खरिदहरूमध्ये कुनै अख्तियारको छानबिनमा या त अदालतको कष्टडीमा पुगेका छन् । वीपी प्रतिष्ठान नियमित तलब भत्ता सुविधा दिन सक्ने अवस्था नरहेको तथा अस्पताल सेवा र शिक्षाकोस्तर अत्यन्तै खस्किएको पाइएको छ । विभिन्न छानबिन समितिले पनि उक्त कुरालाई औंल्याएको देखिन्छ ।

सरकारबाट पाप्त हुनुपर्ने बजेट समेत निकाशा गराउन नसकी महत्वपूर्ण आयोजनाहरु बन्द हुने अवस्थामा पुगेको छ । शिक्षक, कर्मचारी अनुसाशन र व्यवस्थापन प्रतिष्ठानको इतिहासमै सबैभन्दा नाजुग रहेको छ  । दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकले प्रतिष्ठान छाडेका छन् । ‘प्रतिष्ठानमा कार्यकारीणी समिति र सिनेटको बैठक एकवर्षमा एकपटक पनि नहुने गरेको र उपकुलपति गिरी पूँजीगत खर्च र कमिसनमा मात्र व्यस्त रहेको” प्रतिष्ठानका एक वरिष्ठ कर्मचारी बताउँछन् |

तत्कालिन केपी ओली सरकारको समयमा ‘केपी ओली फुटबलका पेले हुन्’ भनि चाकडी गर्ने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, काठमाण्डौ विश्वविद्यालय का उपकुलपति डा. भोला थापा र बीएण्डसी अस्पतालका मालिक दुर्गा प्रसाईंसँगको मिलिभगतमा गिरीले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको रूपमा स्थापित गर्ने सम्झौता गरेको कागजात स्वास्थ्य लाइभले प्राप्त गरेपछि थप रहस्य खुल्न थालेको छ ।

‘आफूले नेतृत्व गरेको प्रतिष्ठान जर्जर भइ ताला लाग्ने अवस्थामा पुगेको कुरामा कहिल्यै चिन्तित नदेखिएका उपकुलपति गिरीले उल्टै आर्थिक प्रलोभनमा बीएण्डसी अस्पताल उकास्न प्रतिष्ठानको साधन श्रोत उपयोग गर्ने सम्झौता गर्नु प्रतिष्ठानको ऐन नियमविपरीत छ र उनको यो आधारमा पदमा बस्ने नैतिक आधार सकिएको देखिन्छ’, प्रतिष्ठानका एक पूर्व पदाधिकारीले भने । उनले प्रतिष्ठानलाई थप क्षति गर्ने नियत  देखिएको ती पूर्व पदाधिकारीले बताए ।

नेपाली कांग्रेसका एकाध दुई नेताको खर्च व्यवस्थापनले प्रधानमन्त्री कार्यालयलाई दिग्भ्रमित पारी पदमा टिकेका गिरीले छरेको भ्रम अब केही दिनमा नै चिरिने धरान कांग्रेसका एक नेताको टिप्पणी रहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ##धरान, #काठमाडाैँ विश्वद्यालय, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #कृष्णगोपाल श्रेष्ठ, #दुर्गा प्रसाई, #बीएण्डसी मेडिकल कलेज, #वीपा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com